इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजापट्टी । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ । इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौँ व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । तथापि इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन ।
प्रत्यक्षदर्शीको भनाइमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौँ हवाई हमला गरेको थियो । हमास सरकारद्वारा सञ्चालित सञ्चार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।

हमासको मुख्य अखडा रहेको विश्वासमा अल–शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले १८ मार्चमा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकु मारिएको दाबी गरेको थियो ।
इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकुका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरूमा आफ्ना लडाकु नरहेको बताउँदै आएको थियो ।

हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल–शिफा अस्पताल परिसरबाट दर्जनौँ व्यक्तिका सडेका शवहरू बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ ।

एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरूलाई इजरायली ट्यांकले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

इजरायली सेनाले अल–शिफा अस्पताल कब्जामा लिनुअघि हजारौँ सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए । इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो ।
यसैबीच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरूमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कैयौँ स्थानमा हमास र इजरायली सैनिकबीच भिडन्तहरू भइरहेका छन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ ।

यसैबीच इजरायली सेनाले गाजामा ७ अक्टोबरबाट सुरु भएको सो युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाइएको छ । इजरायली भूमिमा ७ अक्टोबरका दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।

हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ । तथापि यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजामा चलिरहेको यस भीषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघसमेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् ।

प्रतिक्रिया