रौतहत । रौतहतमा पछिल्लो समय आगलागिको घटना बढेको छ । सुख्खा मौसमको आगमन भएसँगै आगलागीको घटना दिनदिनै बढ्दै गएको हो । गर्मीको मौसममा पश्चिमी तातो हावाले आगलागिको जोखिम बढाउने गरेकाले सावधानी अपनाउनुपर्नेमा केही असमझदारीले आगलागिको घटना निम्त्याउने गरेको छ ।
रौतहटमा अहिलेसम्म तीन ठाउँमा भएको आगलागिले ७ भन्दा बढी घर जलेर नष्ट भइसकेका छन् । गएको फागुन महिनामा राजदेवी नगरपालिका– ७ मा भएको आगलागीले सन्जय राउत, हृदय साह कानु र सत्रु्धन साहको घर जलेर लाखौँको क्षति भएको थियो ।
चैत १८ गते जिल्लाको माधवनारायण नगरपालिका– १ दिपहीमा विद्युतको तार चुँडिएर घरमा खस्दा ४ घर जलेका थिए भने चैत १९ गते (सोमबार) गौर नगरपालिका– ४ मा आगो लाग्दा एक जलेको थियो । प्रत्येक वर्ष रौतहटमा आगलागीको घटना हुँदै आएको छ । जिल्लामा आगो नियन्त्रणको लागि बारुण यन्त्रको संख्या न्यून रहेको छ । १८ वटा पालिका भएको जिल्लामा विपद् आएको बेला अन्य जिल्लाबाट सहयोग माग्नुपर्ने अवस्था रहेको छ ।
गौर नगरपालिकाले खरिद गरेको बारुण यन्त्रले नै अधिकांश आगलागिको घटनामा सहारा बन्ने गरेका छन् । प्रत्येक वर्ष आगलागीको घटना हुँदा पनि स्थानीय सरकारले बारुण यन्त्र खरिद गर्ने सोचको विकास गर्न सकेका छैनन् । गौरबाहेक चन्द्रपुर नगरपालिकाले पनि बारुण यन्त्रको व्यवस्थापन गरे पनि जिल्लाको पूर्वी तथा पश्चिमी भेगमा पर्ने पालिकाले बारुण यन्त्र खरिद गर्नुपर्ने स्थानीयको सुझाव छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सुख्खा मौसममा आगो प्रयोग गर्दा सावधानी अपनाउनु र्ने बताएका छन् । उनले बिहान र बेलुका खाना पकाउने कार्य गर्न सुझाव दिएका छन् । प्रज्वलनशिल पदार्थ मट्टीतेल, डिजल, पेट्रोल तथा ग्यासले आगोको जोखिम बढी भएकाले प्रयोग गर्दा सुरक्षीत रुपमा गर्नुपर्ने जरुरी रहेको छ ।
घरमा खाना पकाउन प्रयोग गर्ने आगो खाना पकाइसकेपछि राम्रोसँग निभाउनुपर्ने सुझाव जिल्ला प्रहरी कार्यालयले दिएको छ । सलाई, लाइटरजस्ता सामान बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्ने, ग्यास राम्रोसँग बन्द गरेर राख्नुपर्ने, लामखुट्टे धपाउन लगाउने आगो हावा चलिरहेको बेला नलगाउनुपर्ने, आगो निभाउन प्रयोग गरिने सामग्री तयारी अवस्थामा राख्नुपर्ने सरोकारवालाको सुझाव छ ।
रौतहट
प्रतिक्रिया