वासिंगटन डिसी । अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक विधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको हो ।
अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ । अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा देशद्रोह, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि यो कदम चालेको हो ।
संयुक्त राज्य अमेरिकाका अनुसार सो नयाँ राष्ट्रिय सुरक्षा नीति बनाउन संलग्न ती अधिकारीहरूले ‘अधिकार र स्वतन्त्रता’ नदिने खोज्ने जिम्मेवार अधिकारीहरूलाई नयाँ भिसा प्रतिबन्ध लगाउनेछ । चीनको शासित क्षेत्रमा कडा राष्ट्रिय सुरक्षा कानुन लागू भएको केही दिनपछि अमेरिकाले यो कदम चालेको हो ।
नयाँ कानुनको धारा २३ मा उल्लेख गरिएको व्यवस्थाअनुसार सरकारको विरोध गर्नेहरूले अब कथित देशद्रोह, जासुसी, राजद्रोह र हङकङको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपजस्ता अभियोगको सामना गर्नुपर्ने हुन्छ । नेतृत्वप्रति सबै प्रकारका असहमतिलाई रोक्न सो कानुनले बाटो खोलेको थियो ।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने, ‘यो कानुन हङकङभित्र असहमतिलाई दबाउन र विदेशमा कार्यकर्ताहरूलाई धम्की दिने चीनको अभियानलाई अगाडि बढाउन प्रयोग गर्ने देखिएको छ ।’
बेलायतले १९९७ मा सो सहर चीनलाई हस्तान्तरण गरेको थियो, त्यसपछि सो क्षेत्र चीन शासित क्षेत्रको रूपमा रहँदै आएको छ ।
यसअघि हङकङमा राष्ट्रिय सुरक्षा ऐन लागू भएदेखि नै मानवअधिकारको हनन भएको भन्दै विश्वव्यापी आलोचना भएको थियो । सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गर्दा दुई भिन्न राजनीतिक व्यवस्थाको विषयमा सहमति कायम भएको थियो । परन्तु, हङकङमा त्यो सहमति कार्यान्वयन हुन सकेको छैन ।
दुई वर्षअघि राष्ट्रिय सुरक्षा ऐन लागू भए यता हङकङमा ठूलो विद्रोह भइसकेको छ । सोही विद्र्रोहको क्रममा धेरै जना गिरफ्तार भइसकेका छन् ।
प्रतिक्रिया