कालिकोट । खाँडाचक्र नगरपालिका–५ को गौरवशाली आयोजनाको रूपमा लिइन्छ फयालकुलोलाई । २०७८ सालको जनगणना अनुसार फयालकुलोको उपभोग गर्नेको संख्या २ हजार ४ सय ९८ जना छन् । फयालकुलो नभए खाँडाचक्र–५ का नागरिकले आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । फयालकुलो सिँचाइका लागि मात्र प्रयोग हँुदैन । फयालकुलोबाट आउने पानी पशुचौपायादेखि कुटानी पिसानीका लागि घट्टलाई समेत प्रयोग गरिन्छ । उक्त कुलो हाल आरसिसी हुँदै छ । आरसिसी कुलो बन्ने भएपछि स्थानीय हर्षित छन् ।
वर्षांैदेखि पुरानै शैलीबाट प्रयोग हुँदै आएको कुलो आरसिसी हुन थालेको हो । स्थानीय भीमप्रसाद चौलागार्इंका अनुसार बाजेको पालादेखि साढे आठ किलोमिटर टाढाबाट पानी गाउँमा आउथ्यो । माटोको कुलो भत्किन्थ्यो । दुःख हुन्थ्यो । अब ती दिन हराउलान् कि भन्ने आशा भीम प्रसादलाई छ ।
बर्सेनि एउटा गाउँबाट चार जना व्यक्ति कुलाको काममा खटिन्थे । कुलाको काममा खटिएवापत कुलाको काम गर्ने व्यक्तिले धान, गहुँ, मकै लगायतका अन्य अन्नबाली उठाई कुलाको काम गर्ने व्यक्तिलाई दिने गरेको स्थानीय खडानन्द चौलागार्इंले बताए ।
खाँडाचक्र नगरपालिका–५ घोडेनाका भक्तबहादुर शाहीका अनुसार विशेष गरी खाँडाचक्र नगरपालिका–५ का घोडेना, बिउरी, कार्कीवाडा, ढाडगाउँ, सालिमवाडा, मोटेला लगायतका क्षेत्रका नागरिकहरूले कुलोको प्रयोग गर्दै आएका छन् । परम्परागत शैलीको कुलो भत्काउँदै आरसिसी कुलो निर्माण हुने भएपछि आफूहरू हर्षित भएको भक्तबहादुर शाहीले सुनाए ।
खाँडाचक्र नगरपालिकाका रोजगार संयोजक बलबहादुर शाहीले कुलो दीर्घकालीन हुनुपर्ने र स्टमेटअनुसार काम गर्नुपर्ने तथा समयमै निर्माण कम्पनीले काम सकाउनुपर्ने सुझावसमेत दिए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले नगरपालिकाकै महत्वपूर्ण र गौरवशाली योजनाको रूपमा फयालकुलोलाई लिएकाले काम छिटो छरितो, दीर्घ टिकाउ गर्नका लागि स्थानीयदेखि निर्माण कम्पनी लागि पर्नु आवश्यक रहेको बताएका छन् । नगरपालिका र सम्बन्धित कार्यालयबाट बारम्बार अनुगमनसमेत गर्ने शाहीको भनाइ छ । शाहीले भने, ‘काम गर्नु, रकमको चिन्ता नलिनु ।’ बहुवर्षीय योजना भएकाले आवश्यक रकमको जोहो गर्नेमा लागिपर्ने प्रतिवद्धतासमेत उनले जनाए । उनले भने, ‘काम नगरेर रकम फ्रिज गएमा निर्माण कम्पनी जवाफदेही हुनुपर्नेछ ।’
यस वडाकै गौरवशाली योजना तथा बहुवर्षीय योजनाको रूपमा उक्त कुलोलाई लिएको वडा अध्यक्ष देउराम विश्वकर्माले बताए । यहाँ अन्नबालीलगायत कृषि खेती गर्नेका लागि फयालकुलो अति आवश्यक र महत्वपूर्ण रहेकाले वडा सरकारबाट एक जना प्रतिनिधि निर्माण क्षेत्रमा खटाउने वडा अध्यक्ष विश्वकर्माले बताए । काम के कस्तो भइरहेको छ । स्टमेटअनुसार भयो कि भएन ? यस विषयमा हप्तामा एकपटक अनुगमन गर्ने विश्वकर्माको भनाइ छ ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालिकोटका इन्जिनियर प्रबिन महतले यस योजनालाई दिगो टिकाउ गर्नका लागि र समयमै काम सम्पन्न गर्नका लागि कार्यालयबाट हुने सहयोग र अनुगमन भइरहेको बताए । महतले स्टमेट विपरीत काम भए कार्यालयबाट रकम भुक्तानी नहुने बताए । पटकपटकको अनुगमन, नागरिकको गुनासो र कामको प्रवृत्ति हेरेर रकम भुक्तानीका लागि प्रक्रिया बढाउने उनको भनाइ छ ।
कुलो निर्माणको जिम्मा पाएको डाइमन्ड निर्माण सेवाका सञ्चालक कमलबहादुर शाहीले काम गर्न थुप्रै कठिनाइ भए पनि आफ्नो कम्पनीले काम गरिरहेको बताए । भौगोलिक दृष्टिकोणले कुलोमा प्रयोग हुने सिमेन्ट, सरिया, बालुवा ढुवानीका लागि चुनौती छ । ट्रयाक ओपन मात्र भएको सडकमा ट्रयाक्टरमार्फत ढुवानी गर्नुपर्ने र सडक सकिएपछि दुई–तीन घण्टाको बाटोबाट कामदारमार्फत सामान बोक्नुपर्ने भएकाले समस्या देखिएको निर्माण सेवाका शाहीको भनाइ छ ।
शाहीले भने, ‘लेकतिर काम गर्नुपर्ने, हिउँदमा जाडो, बर्खामा पानी आउने भएकाले वर्षामा बढीमा तीन–चार महिना काम हुने गरेकाले काममा ढिलाइ भएको हो ।’ आफ्नो निर्माण कम्पनीले कामको जिम्मा पाएकाले समयमै स्टमेट अनुसारको काम गर्ने र दिगो टिकाउको समेत काम गरेर कम्पनीप्रतिको नागरिकलाई विश्वास बढाउनेमा लागि परेको शाहीको भनाइ छ । शाहीले भने, ‘हालसम्म आफ्नो कम्पनीले पाएका निर्माणका कामहरू स्टमेटअनुसार र दिगो टिकाउको काम गरेको छ ।’ निर्माण कम्पनीका अनुसार हालसम्म १ हजार ७ सय मिटर कुलोको काम सम्पन्न भएको छ ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, खाँडाचक्र नगरपालिका र स्थानीय पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको छ ।
प्रतिक्रिया