बढुवाका लागि ५२ वर्षको उमेरमा एसइई दिँदै सहनी

मधेस ब्यूरो । रौतहटको एक परीक्षा केन्द्रबाट ५२ वर्षका परीक्षार्थीले एसइईमा सहभागिता जनाएका छन् । रौतहटको गढीमाई नगरपालिकाको वीरनगरमा रहेको श्री माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ वर्षीय विन्देश्वर सहनी पहिलोपटक एसइईमा सहभागी भएका हुन् ।
राजश्री बचत तथा ऋण सहकारी संस्थामा कार्यरत सहनी गरुडा नगरपालिका–२ गेडहीगुठीमा रहेको श्री माध्यमिक विद्यालयका नियमित छात्रको रूपमा पहिलोपटक एसइईमा सहभागी भएका हुन् । सहनीको प्रवेश पत्रमा स्थायी ठेगाना गरुडा नगरपालिका–२ र जन्म मिति २०२८ उल्लेख रहेको छ ।

सहनीको सिम्बोल नम्बर ०३५०३८६० भी तथा रजिस्ट्रेसन नम्बर ८०२३५०२८००३६ प्रवेशपत्रमा उल्लेख गरिएको छ । सहनीले परीक्षा दिइरहेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष नागेन्द्र राय यादवका अनुसार उनी सो परीक्षा केन्द्रमा उमेरले सबैभन्दा ज्येष्ठ परीक्षार्थी हुन् । शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका इकाइ प्रमुख रामविनय कुमार सिंहले जिल्लामा सहभागी सबै परीक्षार्थीमध्ये उमेरले सबैभन्दा ज्येष्ठ परीक्षार्थी सो केन्द्रबाट एसइईमा सामेल भएको जानकारी गराएका छन् ।

५२ वर्ष पूरा गरी ५३ वर्ष पुग्न लागेका सहनीले यस उमेरमा एसइईमा सहभागिता जनाएर पढाइको लागि कुनै उमेर नहुने सावित गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष अनिलकुमार निधिले बताए । झन्डै नातिको उमेरका परीक्षार्थीसित परीक्षा दिइरहँदा आफूलाई रमाइलो लागेको सहनीको प्रतिक्रिया रहेको छ । पढाइको कुनै उमेर नभएको र आफूले अहिले आएर पढाइको मूल्य बढी बुझेको सहनीको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया