एक नक्कली परीक्षार्थीसहित ११ जना कारबाहीमा

सिरहा । एसईई परीक्षामा जिल्लाको विभिन्न केन्द्रहरुबाट १ जना नक्कली परीक्षार्थीसहित ११ जना परीक्षार्थी कार्वाहीमा परेका छन् । प्रश्न पत्रको गोपनियता भंग गर्ने लगायत परीक्षाको मर्यादा विपरीत कार्य गर्ने ११ व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कारबाही गरेको हो।

जिल्लाको मिर्चैया नगरपालिका–१ स्थित श्री शारदा माबि रामपुरबिर्ता परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिइरहेको जन सेवा माबि कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३ भरहेका) परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई परीक्षा दिइरहेको नक्कली परीक्षार्थी सिरहा कर्जन्हा नगरपालिका–५ का १६ वर्षीय अर्जुन महरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै, सिरहा बरियारपट्टी गाउँपालिका –५ स्थितमा रहेको श्री जनता माबि झिझौल कजरा परीक्षा केन्द्रमा बिकासकुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाइलबाट प्रश्न पत्रको गोपनियता भंग गरी रहेको अवस्थामा प्रहरीचौकी जानकीनगरबाट सुरक्षार्थ खटिएका प्रहरी टोलिले नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट दिन ७ को म्याद लिई ईप्रका महेशपुरपतार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

नेपाली विषयको परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको अवस्थामा सिरहाको विभिन्न परीक्षा केन्द्रहरुबाट परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गर्ने १ जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिनुका साथै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीको साथबाट १२१ (एक सय एक्काइस) थान मोबाइल नियन्त्रणमा लिएको छ । यस्तै अन्य २ जना परीक्षा निरीक्षक समेतलाई जिम्मेवारीबाट हटाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया