पाल्पामा १९ वर्षीया सुनारको हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले पाल्पामा १९ वर्षीया युवती हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको हो ।

सुनारको गत मंगलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न देखिएकाले लप्सीखोलाका १९ वर्षीय सार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । प्रतिवादीले हत्या गर्दा प्रयोग गरेको धारिलो हतियार (हँसिया) एक थान, हत्या गर्दा लगाएको लुगा कालो जिन्स पाइन्ट र रातो टिसर्ट एक–एक थान, रातो रङको खादा, कालो रङको चप्पल एक जोर, मृतकको मोबाइल एक थान र रगतजस्तो रातो पदार्थ लागेको मोबाइलको टेम्पर ग्लास एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

सुनार गत मंगलबार घरबाट अन्दाजी दुई किलोमिटर टाढाको लप्सीखोलामा कपडा धुन र नुहाउन गएकी थिइन् । उनी दिउँसो साढे तीन बजेसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा ४ बजेको समयमा रिब्दिकोट–१ खुलखुले गैरास्थित लप्सीखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुन लगेका कपडा लथालिंग अवस्थामा भेटिएको थियो ।

सो स्थानबाट अन्दाजी २० मिटर तलपट्टि खरबारीमा सुनारको टाउको, घाँटी, हातमा घाउचोट सहित रगताम्य अवस्थामा मृत फेला परेकी थिइन् । उक्त घटना थाहा हुने बित्तिकै प्रहरीचौकी सर्देवा, हार्थोक, अर्गली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुगी हत्याको अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुगा धोएर डोकोमा हाल्ने बेला सामान्य विवाद भएको र लुगा बोकेर घरतर्फ फर्किँदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ । मृतकको बायाँ पाखुरा, टाउको र पछाडि खप्परमा प्रहार गर्दा मृतक सुनार बाटोबाट अन्दाजी २० मिटर तल खरबारीमा घस्रिँदै गई घोप्टो अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा दुई–तीन पटक प्रहार गरी मोबाइल समेत लिएर गएको अभियुक्तले प्रहरीलाई बताएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । मृतक सुनारको शव शव परीक्षणका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।– रासस

प्रतिक्रिया