निर्माण व्यवसायी महासंघकाे साधारणसभा हेटौँडामा हुँदै

हेटौँडा । नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभा शुक्रबारबाट बागमती प्रदेशको राजधानी हेटौँडामा हुँदै छ । दुई दिनसम्म चल्ने साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने महासंघले जनाएको छ ।

बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै महासंघले साधारणसभामा देशभरबाट करिब १ हजार १ सय प्रतिनिधि र पाँच सय जना पर्यवेक्षक सहभागी हुने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले साधारणसभामा निर्माण उद्योगमा देखिएका चुनौतीका बारेमा छलफलसहित हेटौँडा घोषणापत्र जारी हुने बताए । ‘निर्माण उद्योगको विकास र विस्तारका लागि साधारणसभाले गरेको निर्णयसहित हेटौँडा घोषणापत्र जारी गरिनेछ’, सिंहले भने ।

साधारणसभाकै बीचमा महासंघको स्मारिका विमोचनका साथै निर्माण उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसायीलाई सम्मानसमेत गरिने महासचिव रोशन दाहालले बताए ।

हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने साधारणसभामा निर्माण कम्पनीसँग सम्बन्धित विभिन्न २४ वटा स्टलहरू रहने बताइएको छ । महासंघको साधारणसभा उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, सहरी विकास मन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायत सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया