महिला सशक्तीकरणमा ध्यान दिँदै मधेस

मधेस ब्यूरो । मानव विकास सूचकांकको सबै क्षेत्रमा मधेस प्रदेश पछाडि रहेको छ । सबै सूचकांकमा पछाडि रहेको भए पनि महिला सशक्तीकरणको क्षेत्रमा भने केही सकारात्मक कार्यक्रम भइरहेको छ ।

विद्यालय जाने छात्रालाई निःशुल्क साइकल, स्नातक तहमा अध्ययनरत छात्रालाई निःशुल्क ल्यापटप र सम्पूर्ण छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम देशमै पहिलोपटक मौलापुर नगरपालिकाले सुरु गरेको थियो । मधेस प्रदेशमा पहिलो महिला नगरप्रमुखको रूपमा निर्वाचित भएपछि मेयर रिना साहले भान्साको काम गर्ने महिलालाई धुँवामा काम गर्न नपरोस् भनेर हरेक परिवारलाई निःशुल्क ग्याँस चुलोका सामग्रीसहित सिलिन्डर पनि उपलब्ध गराएकी थिइन् ।

मौलापुर नगरपालिकाले महिला सशक्तीकरणका लागि ल्याएको कतिपय कार्यक्रम अहिले प्रदेश सरकारले आफ्नो कार्यक्रममा समावेश गरिसकेको नगरप्रमुख साहले बताइन् ।

यसैगरी गौर नगरपालिकाले महिला सशक्तीकरणका लागि सिलाइ, कटाइ र नेतृत्व विकास तालिमका साथै अन्य विभिन्न तालिमहरू निरन्तर सञ्चालन गरिरहेको छ । महिलाको स्वास्थ्यका लागि पनि नगरपालिकाले निरन्तर काम गरिरहेको नगरप्रमुख शम्भु साहले जानकारी गराए । जिल्लाको सदरमुकाम भएकोले विद्यालयमा पढ्ने छात्रादेखि गृहिणीसम्मका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख साहले बताए ।
सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्यचौकीमा सुत्केरी हुने हरेक महिलालाई चार हजार रुपैयाँ दिने गरेको छ । सुत्केरीको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको जानकारी नगरपालिकाले गराएको छ ।

हरिवन नगरपालिकाले दुई वटा बच्चा जन्माउँदासम्म चारपटक स्वास्थ्य संस्थामा पुगेर गर्भवती जाँच गरेको हुनुपर्ने, टिबीविरुद्धको खोप लगाएको हुनुपर्ने, आइरन चक्की र जुकाको औषधि खाएको हुनुपर्ने तथा बर्थिङ सेन्टरमै बच्चा जन्माएको सुत्केरीलाई नेपाल सरकारले दिने एक हजार यातायात खर्चबाहेक थप चार हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी गराए ।
प्रदेशका अन्य विभिन्न पालिकाले महिला सशक्तीकरणका लागि विभिन्न प्रयासहरू थालनी गरेका छन् । कतिपय पालिकाहरूले उत्कृष्ट छात्रालाई नगदै सम्मान पनि उपलब्ध गराउने गरेको छ ।

छात्राको स्वास्थ्य परीक्षण तथा विद्यालयमा देखापर्ने स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था पनि गरेको छ । नर्सबाट छात्राहरूले सुविधा प्राप्त गरी लाभान्वित भइरहेको पाइएको छ । नेपाल सरकारले छात्रालाई लक्षित गरेर छात्रवृत्ति उपलब्ध गराइरहेको छ । मधेस प्रदेशका केही पालिकाहरूले महिला सशक्तीकरणका लागि काम गर्दा बिस्तारै सकारात्मक प्रभावहरू देखिन थालिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको महिला नेतृहरू बताउँछन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया