तेलहन, दलहन बाली भित्र्याउन ब्यस्त किसान

रौतहट । जिल्लाका किसानहरू यति बेला तेलहन र दलहन बाली भित्र्याउन ब्यस्त भएका छन् । फागु पूर्णिमा (होली) सकिएपछि तराई मधेसका किसानहरू खेतमा लगाइएका तेलहन र दलहन बाली घरमा भित्र्याउनमा व्यस्त भएका हुन् ।

कृषिमा आधारित मधेसका किसान नगदे बालीको रूपमा रहेको मुसुरो, बंगला, सरसिउँ, तोरी, आलस, केराउ लगायतका बाली भित्र्याउन ब्यस्त भएका छन् ।

होलीपछि नगदे बाली भित्र्याउने समय रहेको राजदेवी नगरपालिका–७ का किसान मदन यादवले बताए । सुक्खा मौसमको आगमन भएसँगै पानी पर्ने जोखिम उच्च रहेकोले छिटै बाली भित्र्याउने चटारोमा किसानहरू लागिपरेको यादवले जानकारी दिए ।

पानी परेमा तेलहन र दलहन बालीमा असर पुग्ने स्थानीय किसान भिखारी यादवले बताए । वर्षा हुनुभन्दा पूर्व नै तेलहन दलहन र गहुँबाली घरमा थन्काइ सक्नुपर्ने किसान श्री राम महतोको भनाइ रहेको छ ।

यसैगरी रौतहट जिल्लाको पश्चिमी भागका किसानले पनि चैते धान खेती पनि सुरु गरेका छन् । बारा जिल्लामा अधिक संख्यामा किसानहरू चैते धानको खेती गर्ने गरिन्छ । रौतहटको भने, मौलापुर नगरपालिका, बौद्धिमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिकामा पनि चैते धान खेती गर्ने गरिन्छ । पछिल्लो दिनमा राजदेवी नगरपालिकाका–७ का केही किसानले चैते धानको खेती सुरुआत गरेका छन् । असार महिनासम्ममा भित्र्याउन सकिने चैते धानको बेर्ना लगाउने कार्य जारी रहेको स्थानीय किसान पनालाल महतोले जानकारी दिए ।

निरन्तर रूपमा पूर्वी हावा चलिरहेकोले मौसम परिवर्तन भएर कुन बेला वर्षात होला भन्ने किसानहरूको चिन्ता छ । पूर्वी हावाले थ्रेसर गर्न लागेको बालीमा नरमता आउने तथा पश्चिमी हावा चल्दा कडापन आउने भएकोले तेलहन, दलहन र गहुँ बालीको लागि पश्चिमी वायु लाभकारी हुने किसानहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया