१८औँ राष्ट्रिय मह दिवस मनाइयो

लालाबन्दी । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन’ भन्ने नाराको साथ १८औँ राष्ट्रिय मह दिवस सर्लाहीमा मनाइएको छ । नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा हरिवन नगरपालिका–११ स्थित वडा कार्यालयको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगिता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा धारणा राखेका थिए । आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैँ साथमा, खाऔँ आफ्नो बारीको, नखाऔँ सिमा पारीको भन्ने कार्यक्रमको मूल नारा रहेको थियो ।

जिल्लामा करिब तीन सय जना मौरीपालक किसान रहेका भए पनि सय जना जति मात्रै सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले कार्यक्रममा जानकारी गराए । उनका अनुसार सर्लाहीमा वार्षिक दुई सय मेक्ट्रिक टन मह उत्पादन हुने गरेको छ । उत्पादित मह काठमाडौंसहित देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य हेमराज देवकोटाले बताए । उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटनसम्म मह उत्पादन भएको तथ्यांक छ ।

जलवायु परिवर्तन, वन विनाश र किसानप्रति राज्यले गर्ने गरेको बेवास्ताका कारण मह उत्पादनमा ह्रास आएको किसानहरूको भनाइ छ । सहभागी अन्य वक्ताहरूले महको लेबलिङ प्याकेजिङ, ध्यान दिनुपर्ने, मह उपभोक्तालाई सहजै उपलब्ध गराउनुपर्ने, महको विषयमा सचेतना फैलाउनुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।

पछिल्लो समय तेस्रो मुलुकबाट निर्वाधरूपमा भित्रने गरेको महजस्तै गुलियो पदार्थका कारण यहाँका किसानले महको उचित मूल्य प्राप्त गर्न नसकेको मौरीपालक किसानहरूको गुनासो छ । नेपालमा यस वर्ष करिब ३५ सय मेक्ट्रिकटनको हाराहारीमा मह उत्पादन भएको छ । यहाँ वार्षिक आठ हजार मेक्ट्रिकटनभन्दा बढी महको माग रहेको छ ।

राज्यले मह उत्पादन गर्न ठोस नीति ल्याएर नेपाली मह विदेशी बजारमा निर्यात गर्ने वातावरण सिर्जना गुर्नपर्ने यहाँका मौरीपालक किसानको माग छ । सो कार्यक्रममा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलानलगायत जिल्लाका मौरीपालक किसानहरूको सहभागिता रहेको थियो ।

मह स्वास्थ्यका लागि एकदमै उपयोगी खाद्यपदार्थ हो । यसमा शक्तिवद्र्धक र रोग निरोधक दुवै गुण हुन्छन् । यसर्थ, महलाई आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण भनेर व्याख्या गरिएको छ । महका फाइदा यसप्रकार छन् ।

– दैनिक नियमित एक चम्चा मह सेवन गर्दा रुघाखोकी र घाँटीको समस्याबाट बच्न सकिन्छ ।

– दुई वर्षभन्दा माथिका बच्चालाई दैनिक एक चम्चा मह खुवाउँदा शरीरलाई चाहिने आवश्यक भिटामिन पूर्ति हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ ।

– बकाइनोको फूलको रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिनावारी गडबडीको समस्या हल हुन्छ ।

– महलाई अमलाको चूर्णसँग मिसाएर खाएमा स्मरणशक्ति बढ्ने, छालामा चमक आउने र पेट सफा हुने हुन्छ ।

– मह सेवनले चिसो लाग्दैन, शरीरमा रगतको कमी पनि हुँदैन । र, हड्डी तथा मांसपेशी पनि बलियो बनाउँछ ।

– शुद्ध तोरीको तेलमा मह मिसाएर शरीरमा लगाउँदा बाहिरी ब्याक्टेरियाले आक्रमण गर्न पाउँदैन ।

प्रतिक्रिया