आँप र लिचीमा मुजुरा लागेपछि किसान हर्षित आम्दानी राम्रो हुने किसानको विश्वास

मधेस ब्युरो । आँप र लिचीमा पर्याप्त मजुरा (फूल) लागेपछि किसानहरू हर्षित भएका छन् । व्यावसायिक रूपमा आँप तथा लिचीको खेती गर्ने मधेस प्रदेशका किसान यति बेला आँप र लिचीमा लागेको फूलले खुसी छन् ।

फागुनको अन्तिममा मजुरा लाग्ने र चैतको मध्यसम्म चिचिला देखापर्ने भएकोले किसानलाई मुजुरा राम्रो लागेपछि चिचिला पनि राम्रो लाग्ने सम्भावनाले सन्तुष्ट बनाएको हो ।

रौतहटको माधव नारायण नगरपालिका–४ को मिठुअवामा १०औँ बिघामा लगाइएको लिचीको रुखमा लटरम्म मुजुरा लागेको छ । मुजुरा लागेपछि नै व्यापारीहरू लिचीको फल किन्न आउन थालेको स्थानीय बताउँछन् । स्थानीय निमेश साहले यसपटक राम्रो मुजुरा लागेकोले राम्रो आम्दानी हुने विश्वासमा किसानहरू रहेको बताए ।

मधेसको हरेक जिल्लामा आँप र लिचीमा निकै राम्रोसित मुजुरा लागेको छ । मुजुराको सुगन्धले मुग्ध किसानहरूचाहिँ फल लाग्ने विश्वास लिएका छन् । सर्लाहीको गोडैता नगरपालिका रामवनका एक किसानले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’

आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुआ नामको किराले आक्रमण गर्ने डर हुन्छ । अहिलेसम्म मधुआ खासै नदेखिएको र होली सकिएपछि रोग र किराबाट जोगाउने औषधि छर्ने किसानको भनाइ छ । त्यससँगै लागेको चिचिलालाई बलियो र पोटिलो बनाउने औषधि पनि किसानहरूले छर्ने गरेको साहले बताए ।

रोग र किराबाट जोगाउने औषधि नछर्दा बाली जोगाउन नै मुस्किल हुने भएकोले किसानलाई रासायनिक औषधि छर्नु बाध्यता भएको साहले बताए । रोग र किराको आक्रमणबाट जोगाउन नसक्ने हो भने, अहिले खुसी देखिएका किसान निराश हुने र बागवानी लगाउनुको खासै औचित्य नहुने साहको दाबी छ ।

रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ । लिची र आँपको उत्पादन राम्रो हुँदा किसानहरूले राम्रो आम्दानी गर्ने गरेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया