अमेरिकामा ठोक्किएर पुल भत्किँदा २० जनाभन्दा बढी फसेको आशंका

वासिङ्टन । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मंगलबार जनाएको छ । यस घटनाबारे प्राधिकरणले मंगलबार जनाएको हो ।

पानीजहाजको ठक्करका कारण आई–६९५ कि ब्रिजमा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको छ । प्राधिकरणले भिडियोमार्फत सवारी चालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ ।

प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवै तर्फका सडकहरु बन्द गरिएको जनाएको हो । बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबिसी न्यूजलाई दुर्घटनामा परेका मानिसहरू नदीमा रहेको हुन सक्ने बताएका छन् । स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका छन् ।

बाल्टिमोर सिटी प्रहरीलाई मंगलबार जहाजको ठक्करका कारण करिब १ः३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ ले मंगलबार बिहान डाली नामक सिंगापुरको ध्वजा बहाक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो ।

बाल्टिमोरका मेयर ब्रान्डन स्कुट र बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सेव्स्की जुनियर दुवैले घटनाबारे जानकारी पाएपछि तत्काल उद्धार कार्यका लागि उद्धारकर्मी खटाइएको बताएका छन् ।

यसैगरी, प्रभावितहरूको जीवन रक्षाका लागि प्रार्थना गरिदिन ओल्सेव्स्कीले सामाजिक सञ्जाल एक्समार्फत आह्वान गरेका छन् ।– रासस, एएफपी

प्रतिक्रिया