मिथिला परिक्रमा सोमबार सम्पन्न

जनकपुरधाम । मधेसको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा सोमबार सम्पन्न भएको छ । सोमबार बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको हो ।

मध्यमा तथा अन्तरगृह परिक्रममा यसवर्ष पनि लाखौँ श्रद्धालुहरू सहभागी भएका थिए । विभिन्न प्रकारका रोग, दुःख, कष्ट क्लेशबाट मुक्ति एवं मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वाससहित हजारौँ नगरवासीहरू परिक्रममा सहभागी भएका थिए ।

फागुन औँसीका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका–८ स्थित मिथिलाविहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो । १५ दिने परिक्रममा जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५आँै दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न भएको छ ।

माध्यमिकी परिक्रममा सहभागी नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागी हुने गर्दछन् । परिक्रममा रामजानकीको डोलासँगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखाैँ नरनारीहरू सहभागिता हुने गर्छन् ।

टायर गाडा, साइकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुइँ खनेर चुल्हो निर्माण गर्नु, खाना पकाउनु, भजन कीर्तन लगायतका कार्यहरू गर्नु परिक्रमा यात्री श्रद्धालुहरूको आस्था हो । अन्तरगृह परिक्रमा सकिएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा होली खेलिनेछ ।

प्रतिक्रिया