दुबईमा मधेशी एकता समाजको इफ्तार

काठमाडौं । विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो । पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने मधेशका मुस्लिम समुदायको सम्मानमा एकता समाजले इफ्तार कार्यक्रमको आयोजना गरेको थियो ।

रमजान महिनामा दिनभरि रोजा अर्थात् अन्न र पानी ग्रहण नगरी व्रत बसेपछि मुस्लिम समुदायले हरेक साँझ विशेष खानपिन गर्ने गर्दछन् जसलाई इफ्तार भनिन्छ । खराब मौसमको बाबजुद इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता थियो । त्यस अवसरमा भारत र पाकिस्तानका मुस्लिमहरु पनि सहभागी थिए ।

इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम सहभागीहरुले मुस्लिम समुदायको जालीदार टोपी आआफ्नो टाउकोमा लगाएका थिए । त्यस अवसरमा उनीहरुले ह्यापी होली र रमजान मुबारक भन्दै एकअर्कालाई होली र रमजानको शुभकामना दिएका थिए । इफ्तारका सहभागीहरुले यस्तो कार्यक्रमको आयोजनाले हिन्दु र मुस्लिम समुदायबीच मिलीजुली बस्ने सद्भाव र भाइचाराको सन्देश दिने बताए ।

कार्यक्रमपछि आफ्नो धारणा राख्दै एक जना सहभागी फैजानले इफ्तार आयोजनाको प्रशंसा गर्दै आयोजक मधेशी एकता समाजलाई धन्यवाद दिए । यस्तै, एकता समाजका उपाध्यक्ष शैलेन्द्र कुमार यादवले सबै जाति, भाषा र धर्मभन्दा माथि उठेर समाजले मधेशका सबै जात, धर्म र भाषालाई जोडेर अगाडि बढ्न खोजेको बताए ।

यस्तै अर्का सहभागी फैजलले इफ्तार आयोजनका लागि धन्यवाद दिँदै यस वर्षको होलीको उपलक्ष्यमा शुभकामना दिए । समाजका वरिष्ठ सल्लाहकार सुरेशकुमार यादवले एकता समाजले आयोजना गर्ने होली र रमजानसम्बन्धी कार्यक्रमले मधेशका सबै जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गरेको धारणा राखे ।

त्यसैगरी समाजका निवर्तमान अध्यक्ष कृष्ण ठाकुरले मधेशी एकता समाजका लागि सबभन्दा ठूलो धर्म मानव धर्म भएको बताए । कार्यक्रममा समापन मन्तव्य राख्दै समाजका संस्थापक डा. रविन्द्र कुमार यादवले विभिन्न जाति, धर्म र भाषाको विविधता भएको मधेशमा कहिलेकाही कटुता उत्पन्न हुने गरेको र ती कटुता र टकरावलाई सद्भाव र अपनत्वमा बदल्न एकता समाजले होली र इफ्तारजस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताए ।

युएईको गोल्डेन भिजा प्राप्त गर्ने पहिलो नेपाली समेत रहनुभएका डा. यादवले सन् २०१५ देखि नै एकता समाजले दुबईमा रमजानको अवसरमा प्रत्येक वर्ष इफ्तार कार्यक्रम आयोजना गर्न थालेको जानकारी दिए । इफ्तार कार्यक्रम सकिएपछि सहभागीहरुले रंग अबिर दलेर यस वर्षको होली पर्व मनाएका थिए । नेपालको काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा हिजो अर्थात् चैत्र ११ गते होली मनाइयो भने पुरै तराईमधेशमा आज रंगोत्सव मनाइँदैछ ।

प्रतिक्रिया