व्यावसायिक सुपारी खेतीमा इलामका किसान

इलाम । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान राईले करिब ५० रोपनी क्षेत्रमा सुपारी खेती लगाएका छन् । उनको सुपारी बगानमा अहिले सुपारी फल्ने र हुर्कंदै गरेकासहित करिब पाँच हजार सुपारीका बोट छन् । ‘केही सुपारीले उत्पादन दिन थालेको छ, केही उत्पादन दिने तयारीमा छ’, उनले भने, ‘व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको समेत चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० रुपैयाँका दरले घरैबाट बिक्ने गरेको छ ।’

घरआँगनका डिलदेखि खेतबारी र पाखामा समेत सुपारी रोपेर आयआर्जन गर्न बताउँदै नयाँ बोट थप गरी अझ सुपारी खेती विस्तार गर्ने योजनामा रहेको उनले सुनाए । ‘यस वर्ष सुपारी बेचेरे तीन लाख रुपैयाँ आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ’, उनले भने, ‘बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न सकिन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।’

अर्का किसान कृष्ण लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा पाँच सय बोट सुपारी रोपेका छन् । करिब १० रोपनी जग्गामा उन्ले पाँच सय बोट सुपारी लगाएका छन् । थोरै लगानी र कम मिहिनेतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उनले बताए ।

‘अन्य खेतीजस्तो धेरै मिहिनेत र लगानीसमेत नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ’, उनले भने, ‘बिक्री नहुने हो कि भन्ने कुनै समस्या हुँदैन, व्यापारीहरू घरघरमा नै आउँछन्, प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।’

छिमेकीले सुपारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि अर्का किसान चक्र येक्तेन अभिषेकले पनि व्यावसायिक सुपारी खेती सुरु गरेका छन् । ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फर्म’ दर्ता गरी करिब १५ रोपनी क्षेत्रमा सुपारी खेती लगाएका छन् । उनले एक हजार सुपारीको बोट लगाएका छन् । ‘मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, विरुवा हुर्कंदै छन्’, उनले भने, ‘नयाँ बगान भएकाले उत्पादन दिन भने थालेको छैन ।’

त्यहाँका करिब ७० घर किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् । कम मिहिनेत र थोरै लगानीमा नै मनग्य आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसानहरू व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् । बाँझो रहेका जग्गा सदुपयोग गर्दै किसानहरूले व्यावसायिक रूपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरूले खेतबारी र पाखामासमेत सुपारी रोपेर आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नर्गने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताए । किसानले सुपारी बेचेर वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् ।

किसानलाई सुपारी बेच्न बजार र यातायातको पनि समस्या छैन । घरैबाट सहजै रूपमा बिक्री हुन्छ । व्यापारीहरू किसानको घरघरमा गएर सुपारी किन्ने गरेका छन् । बगानकै मोलतोल गरेर व्यापारीले सुपारी किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने कुनै झन्झट छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले सुपारीको मूल्यसमेत राम्रै पाएका छन् ।

इलाममा सुपारीको खेती विस्तार आएको छ । यस वर्ष इलाममा ६ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए ।

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका क्षेत्रका किसानहरूले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक सुपारी खेती गर्दै आएका हुन् ।

प्रतिक्रिया