दाङ । दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो हाइटेन्सन लाइनको तार चुँडिएर झर्दा करेन्ट लाग्दा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुँडिएर उनीहरूलाई करेन्ट लागेको थियो । घरअगाडि खेलिरहेका नातिलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा हजुरआमा र नातिको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । दाङमा शनिबार जोडले हावा चलेको थियो । त्यसकै कारण तार चुँडिएको अनुमान गरिएको छ ।
प्रतिक्रिया