घरघरै नेता पुगे, पुगेन १ गाग्रो पानी !

संघीयता कसका लागि ?

१ गाग्रो पानी भर्न आधारातमै जंगल पुग्छन् ८० बर्से वृद्ध

‘गाउँमा खानेपानीको योजना आयो भन्छन् । आफूलाई र वस्तुभाउलाई पानी कहाँबाट ल्याउने चिन्तामै दिन बित्छन् । सुखले एक गाग्री पानी थाप्न पाएको छैन ।’

रुकुम पश्चिम । देशले जहानियाँ र सामन्ती भनिएको राणाशासन भोग्यो, शाही शासन पनि भोग्यो । यहीबीचमा पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र अनि यस्तै के–के तन्त्र भोग्दै अहिले गणतन्त्र भोगिरहेको छ ।

शाहवंशीय राजतन्त्रले जनताका अधिकार कुण्ठित गर्यो । शासक होइन शोषक भयो भनेर राजतन्त्र जरैबाट उखेलेर फालियो । जनताले आफ्नो शासन आफैँ गर्नुपर्छ भनेर देशमा गणतन्त्र घोषणा भयो । केन्द्रीकृत शासन व्यवस्थाले गाउँ जहिल्यै विकट र अभावमै रहे भनेर संघीयता लागू गरियो । भनियो– संघीयतामा हरेक गाउँमा सिंहदरबार पुग्छ । जनताका आवश्यकताका कुरा घरमै उपलब्ध हुन्छन् । दिनौँ, महिनौँ धाएर जीविकोपार्जन गर्नुपर्दैन ।

देश संघीयतामा गएको १ दशक हुनै लाग्यो, गणतान्त्रिक मुलुक भएको त २ दशक नै हुन लागिसक्यो । सिंहदरबार गाउँगाउँ पुग्यो, टोलटोलमा सरकार अनि घरघरै नेता । यसबीचमा जनताका आधारभूत आवश्यकताका लागि कसैसँग हारगुहार गर्नुनपर्ने हो । कोही भोकैतिर्खै नहुनुपर्ने हो । उपचार नपाएर कसैको ज्यान नजानुपर्ने हो । तर, अवस्था ? अहँ पटक्कै त्यस्तो केही भएकै छैन । गाउँगाउँमा सरकार र टोलटोलमा सरकारी संयन्त्र पुगेर तिनै गाउँटोलमा बस्नेहरूले के पाए, अहिलेसम्म यही भनेर भन्ने उपलब्धि खासै देखिएको छैन ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० स्थित मैडाँडा, ठुलाकोट, ठुलाचौरका स्थानीयलाई सधैँ आधारभूत मानिएको खानेपानीकै पिरलो छ । यो समस्या कुनै विपत्ति आएर, बाढी पहिरोले खानेपानीको मुहान बगाएर वा पाइप, ट¬्यांकी भत्किएर भएको होइन । २ दशक भयो– यी गाउँमा खानेपानी छैन ।
२०४५ सालमा पहिलो पटक खानेपानी आयोजनामार्फत् गाउँमा धारो बनेको थियो । तर, त्यो योजना पनि हराउँदै गएपछि यस गाउँका स्थानीयलाई खानेपानीको अभावले कहिल्यै छोडेन ।

घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात र खानेपानीको लाइनमा बस्नु गुर्दुमबासीको दैनिकी हो । सरकारले सहर–बजारमा खानेपानी पु¥याउनलाई करोडौँका आयोजना सञ्चालन गरे पनि गुर्दुमबासीलाई सधैँ खानेपानीको पिरलो छ ।

ठुलाचौरका स्थानीय नन्दबहादुर शाही उमेरले ८० पुग्न लागे । तर, उनको दैनिकी कुवाबाट पानी बोक्नमै बित्छ । बुढेसकाल लागेका शाही बिहान सखारै उठेर जंगलको बीचमा रहेको कुवामा पानी लिन पुग्छन् । उनले भने, ‘बिहान ४ बजे उठेर कुवामा जान्छु । पानी लिएर फर्किंदा ६–७ बज्छ । कहिले लाइन बस्नुपर्छ । कहिले कुवा सुकेर पर्खिनुपर्छ । बुढो मान्छे, पानी बोकेर फर्कंदा उकालो छ । हिँड्नै समस्या छ ।’

वर्षौंदेखि पानीको समस्या भोग्दै आएका शाहीलाई २ वर्षअघि धागेछहरीको पानी गाउँमा पुगेपछि अब घरमै धारामा पानी आउँछ भन्ने लागेको थियो । तर, उक्त योजना निरन्तर नचल्दा समस्या उस्तै छ । बर्खामा त झन् कुवाको पानी पनि धमिलो हुने गरेकाले सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको गुनासो स्थानीयको छ ।

ठुलाचौर, कोट, महचौरलगायत गाउँका सयभन्दा बढी घरपरिवार सधैँ मूल र कुवाको पानीमा निर्भर छन् । ठुलाचौरका स्थानीयले गैरापानीमा रहेको कुवा, कोटका स्थानीयले कुरेपानीको धारो र महचौर गाउँकाले मूलपानीको धाराको पानी प्रयोग गर्दै आएका छन् । सरकारले ‘एक घर, एक धारा’को अवधारणा ल्याए पनि आठबिसकोटबासीलाई सधैँ खानेपानीकै चिन्ता छ ।

प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ । २०४५ सालमा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् ।
२०७५ सालमा कर्णाली प्रदेश सरकारमार्फत् यी गाउँ लक्षित गरेर धागेछहरी खानेपानी योजनाका लागि १ करोड १६ लाख रुपैयाँमा टेन्डर खोलेको थियो । उक्त टेन्डरपछि नहकुली कन्स्ट्रक्सनले योजना निर्माणको जिम्मा पायो । केही महिनासम्म पानी निरन्तर आयो । तर, प्राविधिक कारणले पटक–पटक अवरुद्ध हुँदा यहाँका बासिन्दा खानेपानीबाट वञ्चित बनेका छन् ।

हिउँद लागेसँगै कुवाको पानी सुक्न थालेपछि धागेछहरीको पानी स्थानीयले श्रम गरेर गाउँमा ल्याएको स्थानीय अगुवा केशव शाहीले बताए । उनका अनुसार स्थानीयको श्रमबाहेक ५० हजार रुपैयाँ खर्च गरेर ठुलाचौरमा पानी ल्याइएको हो । केही दिनका लागि खानेपानीमा सहज भए पनि कतिबेला बिग्रिने हो भन्ने चिन्तामै बस्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

‘गाउँमा पानी छैन, आधा घन्टा ओरालो झरेर गैरापानी कुवाबाट पानी ल्याउनुपर्छ,’ वडा–१० की स्थानीय राधा थापाले भनिन्, ‘वर्षौं भयो यो समस्या भोगेको । पानी बोक्दाबोक्दा थाप्लोका कपाल झरिसके ।’

एक गाग्री पानी ल्याउन बिहान ४ बजे कुवामा पुग्नुपर्छ । ‘खानेपानीको योजना आयो भन्छन् । खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामै दिन बित्छ,’ उनको दुखेसो छ, ‘सुखले एक गाग्री पानी थाप्न पाएको छैन ।’

गाउँमा जनप्रतिनिधिले खानेपानी समस्या समाधानका लागि धेरै आश्वासन दिए पनि पानीकै पिरलो छुट्न नसकेको स्थानीय बासिन्दा गुनासो गर्छन् ।
अहिले मैडाँडामा सालागाडको पानी पुगेको छ । सालागाड–गैरापानी–महचौर खत्रीबारा खानेपानी योजना बजेट अभावका कारण पूर्ण हुन सकेको छैन । प्रदेश सरकारबाट १० लाख रुपैयाँ उपलब्ध भएकामा उक्त रकम अपुग भएपछि योजनाले पूर्णता पाउन सकेको छैन । कम्ती ७०–८० लाख रुपैयाँ भए मात्रै योजना सम्पन्न हुने बताइएको छ । बिहान सबैभन्दा पहिले कुवामा नपुगे पानी भर्न नपाइने हुँदा मध्यरातमै जंगलबीचको कुवामा पुग्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया