जीवन विकास लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सप्तरी । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बोदे बर्साइन सप्तरीले केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता एवं पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले आपत् विपत्मा परेका नागरिकलाई राहत प्रदान गर्नुका साथै विपन्न परिवारका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले संस्थाका सेयर सदस्यहरू मध्येबाट अति विपन्न २२ परिवारका पाँच जना छोराछोरीहरूलाई एक वर्षको छात्रवृत्ति दिने, ३.० क्लबअन्तर्गत बेरोजगार सदस्यहरूलाई बेरोजगारी समस्या समाधान गर्न राहत उपलब्ध गराउने घोषणा गरेको छ । संस्थाले डिजिटल माध्यमबाट कारोबार सुरु गरेकाले नगर र वडा कार्यालयसँग सम्झौता गरी सीप मुलक तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य लिएको संस्थाका सूचना प्रविधि विभागीय प्रमुख रमेशकुमार रायले बताए ।

नगरपालिकाको वडा–५ शत्रुघ्न चौकमा रहेको सो संस्थाले गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्नुका साथै सामाजिक सेवाको क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको संस्थाका शाखा प्रमुख यदुनन्दन कुमार साहले बताए ।

त्यसअवसरमा संस्थाका शाखा प्रमुख साहले संस्थाको बारेमा परिचय दिँदै गरिबीरहित नेपाल निर्माणको परिकल्पनाका साथ विभिन्न खालका सामाजिक तथा आर्थिक क्रियाकलाप गर्न २०५४ सालमा स्थापित जीवन विकास समाज नामक गैरसरकारी संस्थाको नेतृत्वमा २०६९ साउन २६ गते स्थापित भएको बताएका थिए । उनका अनुसार संस्थाले २०७५ फागुन ३ गते नेपाल राष्ट्र बंैकद्वारा राष्ट्रिय स्तरको वित्तीय संस्थाको इजाजतपत्र प्राप्त गरेर २०७५ फागुन १६ गतेदेखि वित्तीय सेवा प्रदान गर्न शुभारम्भ गरेको हो ।

यस्तै, वित्तीय संस्थाको हालको अवस्थाअन्तर्गत २४ वटा जिल्लामा संस्थाको सेवा पुगेको, १ सय ६० वटा शाखा संख्या, ३ लाख २४ हजार ५ सय ९९ सदस्य संख्या, ९ सय २५ कर्मचारी संख्या, १० अर्ब ४ करोड २१ लाख ४३ हजार ९ सय ७ कुल बचत र २५ अर्ब ५८ करोड ७९ लाख ७६ हजार ७ सय ४० कुल ऋण रहेको बताइएको छ ।

यस्तै, बालशिक्षा, बालबालिका अध्ययन केन्द्र, नवबिहानी, सुकुम्बासीलाई जग्गाधनी बनाउने, सुरक्षित आवास, घरआँगन तरकारी खेती, सामुदायिक स्वच्छता, प्रकोप तथा विपत्मा सहयोग, निःशुल्क ट्युसनसेन्टर, उद्यमशीलता विकासजस्ता धेरै कार्यक्रम गर्दै आएको सो अवसरमा जानकारी दिइयो ।
यसै गरी क्यान्सर र मिर्गाैला पीडित बिरामी रहेका संस्थाका सदस्य र गैरसदस्य एक–एक जनालाई सहयोगसमेत गरेको छ । संस्थाको १ सय १७ केन्द्रहरू मध्ये उत्कृष्ट पाँच केन्द्रहरूलाई सामुहिक काम गर्न आवश्यक पर्ने सामग्रीका साथ पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया