मधेसमा मकै खेतीतर्फ किसानको आकर्षण

रौतहट । मधेस प्रदेशको विभिन्न जिल्लामा मकै खेतीतर्फ किसानको आकर्षण बढेको देखिएको छ । पहिले पूर्व–पश्चिम राजमार्गतिर मात्र मकै खेती हुने गरेकोमा अब दक्षिणी क्षेत्रसम्म बिस्तार भएको पाइएको छ । मकै खेतीबाट किसानलाई राम्रो आम्दानी हुने गरेकोले खेतीमा विस्तार भएको किसानहरू बताउँछन् । रौतहटको वृन्दावन नगरपालिका–१ का बैजु पटेलले आफूले करिब तीन बिघामा मकै खेती गरेको बताए । अन्य बालीको तुलनामा मकै खेतीले राम्रो आम्दानी दिने भएकाले आफूले हरेक वर्ष मकै खेती गर्ने गरेको पटेलले बताए । उत्कृष्ट मकै उत्पादक किसानको सम्मान पाइसकेका पटेलले भने, ‘मकैलाई बेच्न सजिलो र नगद पाउन पनि निकै सजिलो छ ।’

वृन्दावन नगरपालिकाका सयौँ किसानले हजारौँ बिघामा मकै खेती गरेका छन् । वृन्दावन जस्तै चन्द्रपुर, गुजरा र फतुवा विजयपुर नगरपालिकाहरूमा हजारौँ बिघा खेतमा मकै खेती गरिएको छ । रौतहटमा मात्र नभई सर्लाहीको बागमती, हरिऔन, लालबन्दी, हरिपुर्वा, बरहथवा लगायतका नगरपालिकाहरूमा पनि हजारौँ बिघाको दरले मकै खेती गरिएको छ ।

मकै खेती गर्दा खेत बाँझो बस्न नपाउने तथा किसानको हातमा नगद पर्याप्त आउने भएकोले किसानहरू मकै खेतीतर्फ आकर्षित भएका हुन् । छिटो पाक्ने जातको धान काटेर तोरी वा आलु खेती गर्ने र त्यसपछि मकै खेती गर्दा मज्जाले तीन बाली भित्र्याउन पाउने हुँदा मकै बालीले राम्रो आम्दानी दिएको किसानहरू बताउँछन् ।

धान काटेर कतिपय किसानले आलु रोप्ने र आलु उम्रेर माटो चढाउने बेलामा मकै लगाउने गरेको सर्लाहीको बरहथवा नगरपालिकास्थित हजारियाका किसान रामचन्द्र साहको भनाइ छ । साहले भने, ‘आलुलाई गरिने सिँचाइ तथा गोडमेलले मकै पनि हुर्किरहेको हुन्छ र मकै हुर्किएर आलुलाई छेक्नुअघि आलु खनेर निकाल्न सकिन्छ ।’ एउटै सिँचाइ र मल तथा परिश्रमको लगानीले दुई बाली सजिलै गरी लिन सकिने भएकोले मकै खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

मधेस प्रदेशको उत्तरी क्षेत्रमा मात्र होइन, दक्षिणी क्षेत्रमा पनि मकै खेती निकै विस्तार भएको छ । बारा जिल्लाको सिम्रौनगढ, रौतहटको बौद्धिमाई तथा अन्य पालिकाका पनि यस वर्ष मकै खेती निकै बिस्तार भएको छ । रौतहटको गरुडा नगरपालिका–२ का रामबाबु साहले भने, ‘आफ्नो गाउँमा पहिलोपटक १० बिघाभन्दा बढी खेतमा एकसाथ मकै खेती गरिएको छ ।’

मौलापुर नगरपालिका–९ सोनरनियाका रामचन्द्र रायले पनि पर्याप्त मकै खेती गरेका छन् । मकै उत्पादन भएपछि लगत्तै बिक्री हुने तथा बिक्री गर्न मन नलागेमा भन्डारण गर्न निकै सजिलो भएकोले आफूले मकै खेती गरेको रायले बताए । मकैको घोघासहित तथा दाना छोडाएर दुवै तरिकाले भन्डारण गर्न सकिने र आवश्यक पर्दा बेच्नासाथ हातमा नगद आउने भएकोले उखु खेतीको विकल्पमा मकै खेती गर्न किसानहरू आकर्षित भएको रायले बताए ।

सामान्यतया पाँच महिनामा उत्पादन हुने मकैको काँचो घोघा बेचेर पनि पर्याप्त आम्दानी हुने गरेको छ । पोलेर बेच्नका लागि ब्यापारीहरूले प्रतिघोघा १० रुपैयाँसम्म खेतमै पुगेर नगद दिने गरेको किसानहरूको भनाइ छ । हरियो घोघा बेच्नेहरूले खेतमै मकैको झार नै किन्ने सकार गर्ने गरेकोले किसानलाई मकै खेतीले राम्रो आम्दानी दिएको छ ।

प्रतिक्रिया