बेसार प्रवर्द्धन गर्दै माङसेबुङ–१ गाउँपालिका

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवद्र्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवद्र्धन सुरु गरेको हो ।

‘कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमले रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने प्रयासस्वरूप कृषि उद्यम प्रवद्र्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ’, वडा अध्यक्ष भुपाल योङहाङले भने, ‘तीन वर्ष अवधिको सम्झौता पत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ ।’

पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसार खेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बिउ वितरण गरेको छ । महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थामार्फत साझेदारी मोडेलमा बेसारको बिउ वितरण गरिएको वडाध्यक्ष योङहाङले जानकारी दिए । उनका अनुसार वडाभित्रका २८ जना किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बिउ उपलब्ध गराएको छ ।

उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ । सुरुमा २८ जना किसानलाई दिइएको बिउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकास थालिने वडा अध्यक्ष योङहाङले बताए ।

उत्पादन सुरु भएपछि ‘बेसार’ लाई ब्रान्डिङ गरेर बाहिर निकास गरिने सम्झौतापत्रमा उल्लेख छ । ‘उत्पादित बेसार प्रशोधन गरी प्याकेजिङमा तीनै नाम र लोगो समावेश हुनेछ । साथै समग्र माङसेबुङ गाउँपालिका–१ वडाको पहिचान÷अपनत्व झल्कने गरी ब्रान्डिङ गरिनेछ’, वडा अध्यक्ष योङहाङले भने । गाउँपालिका र जिल्ला बाहिर निर्यात गरी किसानलाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष योङहाङले बताए ।

इलाममा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । यस वर्ष इलाममा १ हजार ९ सय ७ मेट्रिक टन बेसार उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । बेसार १० गुणा बढी फल्ने किसानहरू बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने किसानहरूको भनाइ छ ।

बेसार विभिन्न जातका हुन्छन् । मसलाका रूपमा बेसारलाई तरकारीमा प्रयोग गरिन्छ । यसलाई औषधीय गुणका रूपमा लिने गरिन्छ । बेसारको नियमित प्रयोगले चिसोबाट बच्न सकिने आयुर्वेदका जानकारहरू बताउँछन् । उनीहरूका अनुसार शरीरका हरेक अंगलाई फाइदा पु¥याउने स्वास्थ्यवद्र्धक मानिएको जडीबुटीमा बेसार बहुउपयोगी औषधि हो । ‘एन्टिबायोटिक’ बनाउँदा बेसारको प्रयोग हुने गरेको छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नका साथै ‘इन्फेक्सन’ बाट पनि बचाउँछ ।

बेसार मुख्यतया उष्ण हावापानीमा हुने बाली हो । समुन्द्र सतहदेखि करिब १ हजार २ सय मिटर उचाइसम्म बेसार खेती गर्न सकिन्छ । यसको खेती सिञ्चित र असिञ्चित हल्का कालोदेखि दोमट र रातो माटोमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटे दोमट माटो यसको लागि उपयुक्त मानिन्छ ।

इलाममा १ सय २३ हेक्टर क्षेत्रमा बेसार खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । बेसार खेती पनि नगदे बाली भएको र तत्कालै नबिग्रिने भएकाले किसानको आकर्षण बेसार खेतिप्रति बढेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया