नबिल बैंकको सेवाबाट असन्तुष्ट बन्दै सेवाग्राही

रौतहट । नबिल बैंकका कर्मचारीको व्यवहारका कारण सेवाग्राही असन्तुष्ट बन्दै गएका छन् । आवश्यक परेका बेला सेवा नपाइने र सेवाग्राहीसँग चर्को स्वरमा झर्केर बोल्ने गरेका कारण सेवाग्राही असन्तुष्ट बनेका हुन् ।

रौतहटको गरुडा बजार र देवाहीगोनाहीमा रहेको बैंकका शाखा तीन नबज्दै बन्द हुने गरेका छन् । १० बजे बैंक खुल्ने भनिए पनि साढे १० बजेपछि मात्र कारोबार गर्ने तर तीन बजेभन्दा पहिले नै बन्द गरेपछि सेवाग्राहीहरू अन्य बैंकमा जान थालेका छन् ।

विकल्पको अभावमा देवाहीगोनाही शाखाका ग्राहकहरू भने बैंकबाट असन्तुष्ट बने पनि सेवा लिन बाध्य छन् । बैंकको देवाहीगोनाही शाखाका कर्मचारीले नेट स्लो भयो, नेटले काम गरेन भन्दै सेवाग्राहीलाई घन्टौँ पर्खाउने गरेको गुनासो छ । मुख्य गरी ज्येष्ठ नागरिकलाई देवाहीगोनाही शाखाले दुःख दिने गरेको सेवाग्राही बताउँछन् ।

साँघुरो घुमाउरो सिँढी उक्लेर भुइँतलाबाट पहिलो तल्लामा जाँदा त्यहाँ पनि साँघुरो ठाउँ भएको र ज्येष्ठ नागरिकहरूलाई कर्मचारीहरूले हप्काएर फेरि तल पठाउने गरेको गुनासो रहेको छ । देवाहीगोनाही शाखाका कर्मचारीहरूको व्यवहारले सर्वसाधारण मर्कामा परेका छन् ।

यसै गरी गरुडा बजार शाखा पनि प्रायः तीन नबज्दै कार्यालय बन्द गरिदिँदा सेवाग्राहीलाई समस्या हुने गरेको छ । बजारमा रहेका करिब एक दर्जन बैंकले सर्वसाधारणलाई दिउँसो चार बजेसम्म सेवा दिइरहँदा नबिलका ग्राहक भने बैंकिङ कारोबार गर्न पाउँदैनन् ।

नबिल बैंकका मधेस प्रदेश प्रमुख नितिन गंगवानाले रौतहटका शाखाहरू दिउँसो तीन बजेसम्म मात्र सामान्य सेवाग्राहीका लागि खुल्ने गरेको बताए । अन्य प्राविधिक कामचाहिँ कार्यालय समयसम्म हुने गरेको भए पनि सामान्य सेवाग्राहीका लागि बैंक बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुने गरेको गंगवानाले जानकारी दिए ।

उनका अनुसार आवश्यक परे साँझ ६ बजेसम्म पनि खोल्न सकिन्छ र सेवाग्राही आए बिदाको दिन पनि सञ्चालन गर्न सकिने बताउँदै सेवाग्राहीको संख्या कम भएकोले दिउँसो तीन बजे नै बन्द गरिने गरिएको हो ।

बैंकको देवाहीगोनाही शाखामा चेक क्लियरेन्स गराउन पौने तीन बजे नै बन्द भइसक्यो भनेर कर्मचारीले भोलि आउनू भन्दै फर्काइदिएको गुनासो एक सेवाग्राहीले गरेका छन् । उनले भने, ‘बैंकमा खाता खोलेर ठूलो गल्ती गरिएछ, बैंकका कर्मचारीको मनोमानीले हामी हैरान छौँ ।’

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया