रविलाई काम गर्न देऊ

समाचार टिप्पणी

रविले सहकारीबाहेकका काण्डमा मात्रै पनि गतिलो अनुसन्धान गरे भने त्यसले देशलाई घाटा हुनेछैन । यदि सहकारी काण्डमा खुट्टा कमाए भने अर्को दह्रा खुट्टा भएको ‘भुसतिघ्रे’ खोजौँला । पहिला सुन काण्ड, शरणार्थी काण्ड र अन्य काण्डको छानबिन त होस् !

काठमाडौ । मतपत्रभन्दा लामो ‘डबल’ नागरिकता र ‘डबल’ पासपोर्ट मात्रै होइन, ‘डबल’ नै श्रीमती र गर्लफ्रेन्डको चार्जसिटलाई साइडमा राखेर चितवनका जनताले ६ महिनाभित्रै रवि लामिछानेलाई दोस्रो पटक छानेर संसद् भवन पठाएका हुन् । उनको चित्र र चरित्रबारे कोही अनभिज्ञ छैन, जे भएको छ जानकारीमै भएको छ । यत्ति हो कि, सहकारीको चार्जसिट भने त्यहाँका जनताले चुनावका बेला हेर्न पाएनन् । चितवनका जनताले रविलाई न्याय गरे कि देशलाई अन्याय गरे, त्यसको छिनोफानो अहिल्यै हुने कुरा भएन ।

राजाले आफ्नै खल्तीका प्रधानमन्त्रीलाई पनि छिटोछिटो फेरेर राज्य संयन्त्रलाई अस्थिर पारिराख्ने खेल मात्रै होइन, एउटा काण्डलाई अर्को काण्डले छोप्ने पञ्चायतकालदेखिकै चलन हो । सर्पको छालाकाण्ड होस् कि गधाकाण्ड वा वन फँडानी काण्ड, कुनैको पनि गहिरो अनुसन्धान भएन र यसलाई गोटीका रूपमा मात्रै प्रयोग गरियो ।

अहिले पनि नेपाली राजनीतिक बजारमा भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, सहकारी काण्ड, ललिता निवास, सेक्युरिटी प्रिन्टिङ प्रेस, नेपाल टेलिकमको टेरामक्स प्रविधि खरिद आदिइत्यादि थुप्रै काण्ड छरपष्ट छन् । यति धेरै काण्ड हुँदा एउटालाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन खोज्दा अर्को काण्ड उछालेर ओझेल पार्ने गरिएको छ ।
अझ कतिपय अवस्थामा ‘ठुला माछा’को हवाला दिएर ‘भुरा माछा’लाई दुलाबाट छिराउने काम हुने गरेको छ । रूपमा हेर्दा काण्डहरूको छानबिन र कारवाही होस् भन्ने माग गरेको देखिन्छ । तर, सारमा भने अनुसन्धानलाई प्रभावित पार्ने नियत देखिन्छ । यो पुरानै चलन हो ।

अहिले पुराना गृृहमन्त्री रवि लामिछाने नयाँ भएर आएपछि सुनकाण्डका केही ‘ठुला माछा’ समातिएका छन् । हुन त यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी काण्डमा ‘ह्वेल माछा’लाई नै नराम्ररी मर्काएकै हुन् । ललिता निवास काण्डमा पनि सकेसम्म धुलो उडाएकै हुन् । अनि सुनकाण्ड र यस्तै काण्डमा पनि उनी मन्त्री हुँदा चर्चायोग्य काम गरेकै हुन् । रवि आएपछि त्यसलाई अघि बढाउनुपर्ने बाध्यकारी जस्तै पनि थियो ।

नयाँ गृहमन्त्रीले सुनकाण्डको छानबिन अघि बढाएपछि सहकारी प्रकरण उछालेर अवरोध गर्ने प्रयत्न हुँदै छ, जुन सरासर गलत छ । अहिलेसम्म हेर्दा गृहमन्त्री रवि लामिछाने र उनको पार्टी रास्वपा सुनकाण्डमा कतै देखिँदैन । त्यसले उनलाई सुनकाण्डको गहिराइसम्म पुग्न पार्टीगत रूपमा पनि कठिन नहोला । अनि ललिता निवास वा अन्य निवासमा पनि खासै जोडिएको देखिन्न, जति सहकारीमा जोडिएको छ । सहकारीको हकमा पनि छानबिन र न्याय दिलाउन सके भने उनको सफलता नै मानिनेछ ।

यदि उनले सहकारी बाहेकका काण्डमा मात्रै पनि गतिलो अनुसन्धान गरे भने त्यसले देशलाई घाटा हुने छैन । यदि सहकारी काण्डमा खुट्टा कमाए भने अर्को दह्रा खुट्टा भएको ‘भुसतिघ्रे’ खोजौँला । पहिला सुन काण्ड, शरणार्थी काण्ड र अन्य काण्डको छानबिन त होस् !

१ वर्षमा जम्मा ३ हात दाउ खेलियो गृहमन्त्रीमा । बाँकी ४ वर्षमा राजनीतिक जुवाको खालमा कति हात खेल्न पाइन्छ पाइन्छ । त्यसैले अहिले नै हतारो किन ? खासखास बेलामा बहकिने पुरानै चलन हो । अझ फेसबुके, ट्विटे र युटुबेको ‘इजलास’ बस्ने देशमा मुद्दालाई बहकाउनु कुनै नौलो कुरो भएन ।

जति मिठो तरिकाले भने पनि अन्य काण्ड आँगनमा पछारेर सुनकाण्डको छानबिनमा अवरोध नपु¥याऊँ । अवश्यक परे पासपोर्ट, नागरिकता, सहकारी प्रकरण छानबिनको मुद्दा अघि बढाउन फेरि अर्को गृहमन्त्री ल्याउँला । तर, अहिले शंकाको सुविधा दिएर रवि लामिछानेलाई काम गर्न दिऊँ । आखिर करिब ४ वर्ष त अझै बाँकी छ ।

प्रतिक्रिया