शिक्षाको र विकासका लागि सबैको सहकार्य जरुरी : राष्ट्रपति

सिरहा । सिरहाको लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको हिरक जयन्ती समारोहको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाको विकासका लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको बताए । उनले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरे ।

राष्ट्रपति पौडेलले शिक्षा व्यक्ति, समाज र देशको सर्वांगीण विकास मात्र होइन, चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए । सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्रनिर्माण र राष्ट्रिय एकताको भावनालाई बलियो बनाएर मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।
त्यस्तै रोजगारी र शिक्षाका लागि सहर पस्ने तथा सहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक रहेको पनि उनले बताए ।

सो अवसरमा उनले तीनै तहका सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य रहेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चैधरी, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पदमनारायण चौधरीले शुभकामना दिएका थिए ।

प्रतिक्रिया