सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । गत वर्षसम्म दुई लाख ५० हजार रुपैयाँ आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैंचाले यसवर्ष एक लाख रुपैयाँ मात्र आम्दानी दियो । तर, सुन्तलाको मूल्य घटेर होइन, बगैंचाको सुन्तला अज्ञात रोगले सखाप भएपछि आम्दानी घटेको हो ।
यो साल बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन । ‘विगतका वर्षहरुमा बर्सेनि सुन्तला बिक्रीबाट दुई लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्थ्यो तर, यसवर्ष रोगले सुन्तला फलेन’ अधिकारीले भने, ‘बल्लतल्ल एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो ।’

व्यावसायिक सुन्तला खेती गर्दै आएका अधिकारीको बगैंचामा पहिले एक सय ५० बोट सुन्तला थियो । रोगले बोट मरेका कारण अहिले करिब ७० वटामा सिमित छ । पहिचान नभएको रोगका कारण अधिकांश बोटहरु मरेका छन् । केही बोटहरु मर्न थालेका छन् । बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन । फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको अधिकारीले बताए ।

सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो । सुन्तलाको बोट फूल फूल्ने बेलामा पात झर्ने, पहेँलो हुने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको अधिकारीले बताए । रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोलि आएपनि कुनै उपलब्धि नभएको उनी बताउँछन् ।

‘हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौं, विज्ञको टोलि पनि आउनुभयो’ उनले भने, ‘तर टोलिले स्थलगत रुपमा अनुगमन गरेपनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारण समेत जानकारी गराएन ।’ रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उनले सुनाए ।

अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए । वार्षिक दुई लाख रुपैयाँको सुन्तला बेच्ने गरेका खनालको बगानमा यो वर्ष एक दान पनि सुन्तला नफलेको सुनाए । ‘मेरो बगैंचामा ६० भन्दा माथि सुन्तलाको बोट थियो, सिजनमा दुई लाखसम्म आम्दान दिन्थ्यो’ उनले भने, ‘तर मुख्य उत्पादन दिने बेलामा सबै बोटहरु मरे, यो पटक रुपैयाँको पनि बेचिएन ।’

व्यावसायिक सुन्तला खेती गरेका सलकपुरका दर्जनौं किसानको बगैँचामै बोट मरेको अर्का किसान टार्जन राना मगरले बताए । विगतका वर्षमा ६० हजारको सुन्ताला बेच्दै आएका उनले यसवर्ष २० हजारको मात्र उत्पादन भएको बताए । पछिल्लो समय सुन्तालको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

मुख्य नगदेबालीको रुपमा खेती गरिदैं आएको सुन्तलामा रोगले संक्रमण गर्न थालेपछि यहाँका दर्जनौं किसानहरु वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन् । सलकपुरका दुई सय ५० किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएकोमा रोगको संक्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तला खेती गरिरहेका छन् ।

कुनैबेला सुन्तालको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले संक्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाई छ । ‘विगत यहाँबाट वार्षिक करिब चार करोड रुपैयाँको सुन्तला उत्पादन हुने गरेको थियो’ उनले भने, ‘बगैँचाबाटै प्रतिकिलो एक सय २० रुपैयाँका दरले बेच्दा समेत यो वर्ष करिब एक करोड रुपैयाँको मात्र सुन्तला उत्पादन भएछ ।’

४ दशमलव ४८ प्रतिशतले सुन्तला उत्पादन घट्यो

विभिन्न अज्ञात रोगका संक्रमणका कारण इलाममा यसवर्ष सुन्तालन उत्पादन समेत घटेको छ । गत वर्षको तुलनामा एक सय १७ दशमल ६६ मेट्रिक टन अर्थात् चार दशमलव ४८ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार छ सय २६ दशमलव चार मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष सुन्ताला खेती गरिने क्षेत्र समेत घटेको छ । गत वर्ष तीन सय १० हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकोमा यस वर्ष दुई सय ९० क्षेत्रमा मात्र सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तालाको फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको किसानहरुको भनाइ छ ।
सुन्तला विरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिन सुरु गर्दछ । वयस्क सुन्तलाको बाटेले करिब एक सय किलोसम्म उत्पादन दिने गरेको इलाम नगरपालिका–५, बरबोटेका किसान सामवेद चापागाईंले बताए । सुन्तला किन्न व्यापारीहरु बगैंचामा नै पुग्ने गरेकाले बिक्रिका लागि भने कुनै समस्या नरहेको उनको अनुभव छ । कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ ।

सुन्तला उत्पादन बढाउन तीनै तहका सरकारले वास्तविक किसान पहिचान गरेर विशेष अनुदान र सहुलियतमा ऋण कर्जा उपलब्ध गराउनुपर्ने इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) ले बताए । गाउँका किसान समृद्ध भएमात्र देश समृद्ध हुने भएकाले किसानलाई समृद्ध बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।

मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।

इलाममा उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिड, सिलीगुडीलगायत विभिन्न क्षेत्रमा समेत निकासी हुने गरेको छ ।

प्रतिक्रिया