मधेसमा पिपिआर रोग विरुद्धको खोप अभियान सुरु

जनकपुरधाम । पिपिआर रोगको नियन्त्रणका लागि मधेस प्रदेश सरकारले प्रदेशभरिका बाख्रा तथा भेडामा पिपिआर रोग विरुद्धको खोप दिने अभियान सुरु गरेको छ । धनुषाको हंशपुर नगरपालिका–३ को मलहनीयामा मधेस प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले अभियानको सुरुआत गरेका हुन् ।

उक्त वडामा पालन गरिएको भेडा फर्ममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले पिपिआर विरुद्धको खोप भेडालाई दिएर सुरुआत गरेका छन् ।
मधेस प्रदेशमा रहेका सम्पूर्ण बाख्रा तथा भेडा मध्ये ५० प्रतिशतमा पिपिआर रोग विरुद्धको खोप लगाउने गरी प्रदेशको आठ वटै जिल्लामा एक सातासम्म अभियान चल्ने मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री न्यौपानेले जानकारी दिए ।

अभियानअन्तर्गत मन्त्रालयले आठ वटै जिल्लाका ७ लाख ९२ हजार बाख्रा तथा भेडामा खोप लगाउने भएको छ । यसका लागि १८ वटै पालिकामा ६४ जना भेक्सीनेटर पिपिआर रोग विरुद्धको भ्याक्सिनसहित परिचालन गर्ने काम भएको छ । किसानहरूलाई निःशुल्क रूपमा प्रदान गरिने सो खोपबाट पिपिआर रोग लाग्नबाट जोगाउने भएकाले खोप लगाउनका लागि डा. ठाकुरले आग्रह गरे ।

प्रतिक्रिया