मधेसमा सरकार पुनर्गठनको तयारी

जनकपुरधाम । मधेस प्रदेश सरकार पुनर्गठनको तयारी थालिएको छ । जसपाबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादव बुधबार काठमाडौंबाट मधेस फर्केर सरकार पुनर्गठनको तयारीमा लागेका छन् ।

उनले सरकारमा सहभागिताको विषयमा नेकपा एमालेसित छलफल गर्ने भएका छन् । नवनियुक्त प्रदेश प्रमुख आएसँगै सरकार पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री यादव लागिपरेका हुन् ।

‘एमालेसित छलफल गर्छु’, मुख्यमन्त्री यादवले भने, ‘नवनियुक्त प्रदेश प्रमुख आउनुभएको छैन । आएलगतै सरकार पुनर्गठन गर्छौं ।’ नेपाली कांग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ ।
जसको लागि मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई राजीनामा गर्न लगाउने उनको सचिवालयय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कांग्रेसलाई हटाए पनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मधेस सरकारमै यथावत राख्ने मुख्यमन्त्री यादवको रणनीति छ ।

१४ सदस्य मन्त्री मण्डलमा जसपाका मुख्यमन्त्रीबाहेक तीन मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसका तीन, माओवादी केन्द्रका एक मन्त्री र एक राज्य मन्त्री, लोसपा र नेकपा एकीकृत समाजवादीको एक–एक मन्त्रालय छ ।
माघ ९ मा जनमतले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादवले आफँैसित राखेका छन् ।

प्रतिक्रिया