न्युयोर्क । अस्ट्रेलियन बिलेनियर क्लाइभ पाल्मरले टाइटानिक–२ को योजना बुनेको दशक नाघिसकेको छ । सन् १९१२ मा टाइटानिक दुर्घटना भएको थियो । दुर्घटना हुँदा जहाजमा २ हजार २०० जना यात्रा गरिरहेका थिए । यसरी यात्रा गर्नेमध्ये ७ सय जना मात्र बाँचेका थिए ।
पहिलो पटक पाल्मरले सन् २०१२ मा टाइटानिक–२ बनाउने योजना बनाएका थिए । उनले सोही योजना दोस्रो पटक सन् २०१८ मा पनि बनाएका हुन् । त्यसको ६ वर्षपछि फेरि अर्को पटक योजनालाई विस्तृत गर्दै उनले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । अहिले फेरि किन ? यो प्रश्न सबैतिर उठ्न थालेको छ ।
पाल्मरले पत्रकार सम्मेलनमा बोल्दै रमाइलोका लागि यो आवश्यक भएको बताए । साथै ऐतिहासिक महत्व जोगाउनका लागि समेत यो आवश्यक रहेको उनको भनाइ छ । पहिलो पटक यो योजना सार्वजनिक गर्ने क्रममा उनले विभिन्न प्रस्ताव राखेका थिए । तीमध्येको एड्भान्स प्रस्ताव महँगो पनि थियो ।
जब विश्वमा कोरोना भाइरसको महामारी सुरु भयो, सबै जना लकडाउन र यसको मापदण्डमा रहनुपर्ने बाध्यता आएको थियो, धेरै बन्दरगाह त क्वारेन्टाइनका रूपमा प्रयोगसमेत गरिए । उनले पछिल्ला वर्षमा संघीय र प्रान्तीय सरकारको विरुद्धमा धेरै वटा केसहरू फाइल गरेका छन् । वेस्टर्न अस्ट्रेलिया सरकारको विरुद्धमा उनले महामारीको समयमा सिमाना बन्द गरेको विषयमा मुद्दा दर्ता गरेका छन् । यो एउटा महत्वपूर्ण परियोजनामा अर्बौँ लास भएको कारण जनाउँदै उनले केन्द्रीय सरकारको विरुद्धमा पनि मुद्दा दर्ता गरेका थिए । तथापि त्यो मुद्दामा पनि सर्वोच्च अदालतले उनलाई मुद्दा हराइदिएको छ ।
उनले अहिले २ सय अर्ब अमेरिकी डलर माग गरिरहेका छन् । उनले अस्ट्रेलियाको युनाइटेड अस्ट्रेलिया पार्टीको विरुद्धमा पनि मुद्दा दर्ता गराइसकेका छन् ।
अहिले महामारी सकिएको छ र जहाजहरू पानीमा तैरिन थालेका छन् । यस कारण उनको टाइटानिकको सपना फेरि ब्युँतिएको छ । सन् २०२२ यता फेरि सक्रियता साथ ब्युँतिएको सो योजनाका लागि लाखौँ डलर विज्ञापनमा मात्र खर्च भइसकेको छ ।
धेरै योजनाहरू पहिलेका जस्तै छन् । यसका लागि आवश्यक पर्ने जहाज वर्षको अन्त्यसम्ममा तयार हुनेछ । टेन्डर खुल्ने क्रम सुरु भइसकेको छ । सन् २०२५ को सुरुआतमा टाइटानिक–२ निर्माणको काम सुरु हुने अपेक्षा गरिएको छ ।
यात्रुका लागि सन् १९०० को शताब्दीको झैँ नै लुगा तयार गर्नुपर्ने समेत जनाइएको छ । निर्माण गर्न लागिएको जहाज २६९ मिटर लामो तथा ३२ दशमलव २ मिटर चौडा हुनेछ । २ हजार ३४५ जना अट्ने क्षमताको जहाज बनाउने चुनौती ती अस्ट्रेलियन धनाढ्यसामु छ ।
टाइटानिक दुर्घटना भएको शताब्दी पार गरिसकेको छ । तर पनि इतिहासका जानकारहरू यसका बारे अध्ययनमै व्यस्त छन् । त्यसकारण पनि टाइटानिक–२ बनाउन त्यति सहज भने पक्कै छैन । यदि यो सपना पूरा भए विश्व इतिहासमा अर्को एउटा नयाँ आयाम थपिने पक्का छ ।
प्रतिक्रिया