उपेक्षामा कृषि : बिमा भुक्तानीलाई पनि छैन बजेट !

काठमाडौँ । अघिल्लो वर्षको १ अर्ब ६५ करोड रुपैयाँ कृषि बिमाबापतको रकम अझै भुक्तानी हुन सकेको छैन । बजेट अभावका कारण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बिमाको अनुदान रकम भुक्तानी गर्न नसकेको हो ।

मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले गत वर्षको १ अर्ब ६५ करोड रुपैयाँ कृषि बिमाको रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिइन् । कृषि मन्त्रालयमा बजेट अभावका कारण मन्त्रालयले अर्थसँग ३ अर्ब १० करोड रुपैयाँ बजेट माग गरे पनि उक्त बजेट रकमान्तर नभएपछि भुक्तानीमा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

समयमा अनुदान शुल्क भुक्तानी नहुँदा बिमा कम्पनीहरूले कृषि बिमामा अनिच्छा देखाउन थालेका छन् । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को कृषि बिमा रकम २० करोड २८ लाख बाँकी छ । यसैगरी पशुपन्छी बिमातर्फ १ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

पशुपन्छी बिमातर्फ १ अर्ब ४४ करोड रुपैयाँ बाँकी छ । यति धेरै रकम भुक्तानी गर्न बाँकी रहेको विषयमा कृषि मन्त्रालयले बजेट माग गरेकोबारे अर्थले कुनै जानकारी नगराएको कृषि मन्त्रालयले बताएको छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार कृषि बाली बिमा गर्ने लक्षित किसानमध्ये ९ प्रतिशतले मात्र बिमा गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा १ लाख ८८ हजार ९७७ वटा कृषि तथा पशुपन्छी बिमा गरिएको छ । कृषि बालीतर्फ ८ हजार १७८ वटामात्र बिमा भएको छ भने पशुपन्छीतर्फ १ लाख ८० हजार ७९९ वटा भएको छ । कुल बिमालाई प्रतिशतका आधारमा हेर्दा बाली बिमा ९ प्रतिशतमात्रै भएको छ ।

कृषि बालीको मूल्यांकन कम हुने भएकाले बाली बिमा गर्नेको संख्या बढ्न सकेको छैन । पशुपन्छी बिमाको मूल्यांकन धेरै हुने र लामो समयसम्म हुने भएकाले यो बिमा गर्नेको संख्या भने ९१ प्रतिशत छ ।

सबैभन्दा कम सुदूरपश्चिम र कर्णाली प्रदेशमा कृषि तथा पशुपन्छी बिमा भएको छ । सुदूरपश्चिममा यस्तो बिमा गर्नेको संख्या ३ प्रतिशत अर्थात् ६ हजार १९ छ भने कर्णालीमा ७ प्रतिशत अर्थात् १३ हजार १८३ छ । सबैभन्दा धेरै कृषि तथा पशुपन्छी बिमा गर्नेमा बाग्मती प्रदेश छ ।

आर्थिक वर्ष २०७९/८० मा बाग्मती प्रदेशमा ७३ हजार ५२४ बिमा भएको छ । कोसी प्रदेशमा २७ हजार ८५८ वटा बिमा भएको छ । गण्डकीमा २० हजार ८९६ वटा, मधेसमा १३ हजार ७६५ र लुम्बिनी प्रदेशमा ३३ हजार ७३१ वटा बिमा भएको छ । देशभर १ लाख ८८ हजार ९७७ वटा कृषि तथा पशुपन्छी बिमा भएको मन्त्रालयको तथ्यांक छ ।

आर्थिक वर्ष २०७०/०७१ देखि कृषि तथा पशुपन्छी बिमाको प्रिमियम अनुदान दिने कार्य सुरु भएको हो । २०६९ माघ १ बाट पहिलो पटक औपचारिक रूपमा बाली बिमा सुरु भएको थियो । कृषकलाई अनुदान भने २०७०/०७१ बाट दिन सुरु गरिएको हो ।

प्रतिक्रिया