व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी

इलाम । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रापेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । ‘मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ’, उनले भने, ‘प्रतिघरी ७ सय ५० रुपैयाँसम्ममा घरैबाट बिक्ने गरेको छ, धान खेतीभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ ।’ रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी लिन सकिने अनुभव उनले सुनाए ।

माई नगरपालिका–९ बोरुङका किसान कृष्ण येक्तेनले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा लगाएका छन् । राम्रै धान उत्पादन हुने करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट केरा लगाएका छन् । थोरै लगानी र कम मिहिनेतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले केराखेती सुरु गरेको उनले बताए ।

‘अन्य खेतीजस्तो धेरै मिहिनेत र लगानीसमेत नपर्ने भएकाले व्यावसायिक तवरले केराखेती सुरु गरेको हुँ’, उनले भने, ‘बिक्री नहुने हो कि भन्ने कुनै समस्या हुँदैन, व्यापारिक घरघरमा नै आउँछन्, प्रतिघरी पाँच सयदेखि ७ सय ५० सम्म बगानबाटै बिक्री हुने गर्दछ ।’ केरा खेतीबाट वार्षिक डेढ लाख आम्दानी गर्ने गरेको सुनाउँदै उनले यसवर्ष खेती बिस्तार गर्ने योजना रहेको सुनाए ।

व्यावसायिक केरा खेती सुरु गरेपछि घरव्यवहार चलाउन नगद जुटाउनसमेत सहज भएको अर्की किसान कर्णकुमारी साउनदेनले बताइन् । ‘मैले पाँच रोपनी जग्गामा दुई सय बोट केरा रोपेको छु, केहीले आम्दानीसमेत दिन थालेको छ’, नयाँ बगान सुरु गरेकी उनले भनिन्, ‘मैले एक वर्षमा ७५ हजारभन्दा धेरैको आम्दानी गरेको छु, यसले घरव्यवहार चलाउनसमेत सहज भएको छ ।’

टुपेन्द्र, कृष्ण र कर्णकुमारी मात्र होइन, त्यहाँका करिब ७० घर किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । कम मिहिनेत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि जिल्लाको दक्षिणी क्षेत्रका किसानहरू व्यावसायिक केराखेतीमा आकर्षित भएका छन् । बाँझो रहेका जग्गा सदुपयोग गर्दै किसानहरूले व्यावसायिक रूपमा केराखेती सुरु गरेका हुन् । उनीहरूले व्यावसायिक रूपमा केराखेती गरी लाखौँ आम्दानी लिइरहेका छन् ।

जिल्लाको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, चुलाचुली गाउँपालिकाका तोरबारी साकफारा लगायतका किसानहरूले केराको व्यावसायिक खेती गर्दै आएका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यवसायिक केराखेती गर्दै आएका हुन् । यहाँका किसानले चिनीचम्पा, काबेली, झाजी, भण्डारी, झप्री लगायतका अन्य स्थानीय जातका केरा खेती गर्दै आएका छन् ।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले केरा किन्ने गरेका छन् । बगानकै मोलतोल गरेर व्यपारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पु¥याउने झन्झटसमेत छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले केराको मूल्यसमेत राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानहरूले उत्पादन गरेको केरा स्थानीय व्यापारीमार्फत झापाको बिर्तामोड, दमक, धरान, विराटनगरका साथै मुख्य सहर काठमाडौंसम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया