उपेन्द्र यादवलाई मन्त्रीबाट तत्काल बर्खास्त गर्न माग

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रीबाट तत्काल बर्खास्त गर्न माग गरिएको छ ।
नेपाल सरकारको उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका यादवलाई गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आपत्ति जनाउँदै बर्खास्तीको माग गरेका हुन् ।

संघर्ष समितिले यादवलाई पदबाट बर्खास्त गर्दै कानुनी कारबाहीका लागि मार्ग प्रशस्त गर्न तथा देशमा मानव अधिकार विधिको शासन लागू गर्न गराउन संघर्ष समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
संघर्ष समिति संयोजक रूपसागर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दे यादवलाई मन्त्रीको जिम्मेवारी तोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा अमानुषिक एवं विभत्स गौर हत्याकाण्डका अपराधीहरूलाई कारबाही गर्ने नेपाल सरकारले पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरीत उल्टै मुख्य अपराधीलाई नै मन्त्री बनाउने कार्य गरेको आरोप लगाउँदै यसलाई आपत्तिजनक, दुःखद् एवं निन्दनीय मात्र नभई कानुनी शासनको उपहास भएको भनेको छ । न्यायको पर्खाइमा रहेका पीडितलाई यसले झन् पीडित एवं मर्माहत बनाएको विज्ञप्तिमा जनाइएको छ ।

लामो समयदेखि गौर हत्याकाण्डका पीडितले संघर्ष गर्दै आएका छन् । काठमाडौं केन्द्रित संघर्ष गरेपछि सरकारको ध्यानाकृष्ट भएको थियो । प्रचण्ड सरकारले नै आन्दोलनकर्मीसित सम्झौता गरी घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

संघर्ष समितिले गौर हत्याकाण्डको मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादवलाई मान्दै आएको छ । छानबिन गरी दोषीमाथि कारबाही गर्नुको साटो यादवलाई उपप्रधानमन्त्री बनाएपछि आफूहरूले फेरि आन्दोलन गर्नुको विकल्प नभएको संघर्ष समिति संयोजक रुपसागर उपाध्यायको दाबी रहेको छ ।

प्रतिक्रिया