वीरगञ्ज । आमा नेपाल फाउन्डेसन वीरगञ्जले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकामा शान्ति र्यालीको आयोजना गरेको छ । संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा तथा ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ र्याली निकालिएको छ । महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरणका लागि महिलामा लगानीको सुनिश्चितता गर्न समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानको रूपमा आमा फाउन्डेसन नेपालले समेत यस दिवसलाई मनाएको बताएको छ । आमा नेपाल फाउन्डेसन सँगै वीरगञ्ज नर्सिङ क्याम्पस, हरी खेतान बहुमुखी क्याम्पस, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताले सयुक्त रूपमा दिवस मनाएका छन् ।
वीरगञ्ज महानगरपालिकास्थित विर्ता मन्दिरबाट सुरु भएको र्याली नगर परिक्रमा गरी पुनः विर्ता मन्दिर परिसरको सरसफाइसहित कोणसभामा परिणत भएको थियो । र्यालीपश्चात् वीरगञ्ज नर्सिङ क्याम्पसको परिसर वृक्षरोपणसमेत गरिएको थियो । प्रत्येक रुखलाई लैंगिक समानताको प्रगतिको प्रमाण बनाऔँ भन्ने उद्देश्यका साथ वृक्षरोपण गरिएको आमा नेपाल फाउन्डेसन वीरगञ्जका अध्यक्ष प्रमिता मानन्धरले बताइन् ।
र्यालीमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकी पत्नी अन्नपूर्ण मानन्धर, वीरगञ्ज महानगरपालिकाका कार्यपालिकका सदस्य राधा कार्की, वीरगञ्ज नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख डा.कल्पना पौडेल, आमा नेपाल फाउन्डेसनका अध्यक्ष प्रमिता मानन्धर, समाजसेवी तथा युवा नेता सन्तोष कुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मज्जिद मिया लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया