रौतहट । जिल्लाको बौधिमाई नगरपालिकाका प्रमुख प्रदीप यादवले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखको दबाबमा पक्राउ परेका चार जनालाई रिहा गर्न लगाएको बताएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा बुधबार पत्रकार सम्मेलन गरी नगरप्रमुख यादवले फागुन १८ गते राती समूहमा अपहरण गर्न आएका पाँच जनालाई मोटरसाइकलसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुखलाइ दबाब दिएर रिहा गराएको आरोप लगाएका छन् ।
बौधिमाई नगरपालिका–५ पिपरियाका काशीप्रसाद जायसवालको घरमा आई नबालिक छोरीलाई मोटरसाइकलमा राखी भाग्दै गरेका उनीहरूलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरिएको थियो । तर, प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक कौशल बर्तौलालाइ आदेश दिएर उनीहरूलाई कुनै कार्यवाही नगर्नु भनी फागुन २० गते रिहा गर्न लगाएको नगरप्रमुख यादवको दावीे छ ।
नगरप्रमुख यादवका अनुसार पक्राउ परेका गरुडा नगरपालिका–६ का १९ वर्षीय सन्तोष शर्मा, दिलसाध अंसारी, देवाही गोनाही नगरपालिका–९ का सिनोध गुप्ता, माधव नारायण नगरपालिका–१ का शिव प्रकाश कुशवाहा र रामजीनेश साहलाइ कार्यवाही नै नगरी प्रहरी उपरीक्षक श्रेष्ठले छोडन लगाएका थिए ।
घटनाको जानकारी गराउन जिल्ला प्रहरी कार्यालय गएका पीडितलाई प्रहरी उपरीक्षक श्रेष्ठले पीडितमाथि नै खनिएर पीडकको पक्षमा बोलेका थिए । पीडितले घटना सुनाउँदा एसपीले ‘तपाईंको छोरी खोज्ने काम प्रहरीको होइन, आफ्नो काम आफैँ गर्नु प्रहरी आफ्नो काम गरिरहेको छ’, भन्दै धक्काएको पीडितको भनाइ छ । घटना पनि मेयर यादवले भने, ‘श्रेष्ठ रौतहटमा रहुन्जेल जिल्ला प्रहरी कार्यालय नजाने भनेर आएको छु ।’
फुपूको घरमा बस्दै आएका जायसवालको नबालिक छोरीलाई अपहरणको शैलीमा बेपत्ता पारेको घटनालाइ सहज रूपमा लिने प्रहरी उपरीक्षकले पीडकको संरक्षण गरेकोले सम्बन्धित निकायबाट कार्यवाही गर्नुपर्ने माग उनको छ ।
पीडित जायसवालले छोरी अहिलेसम्म सम्पर्कमा नआएको बताउँदै प्रहरीले उल्टै हामीलाई नै तर्साउने गरेको गुनासो गरेका छन् । न्यायका लागि प्रहरीको शरणमा पुगेपछि प्रहरीबाटै थप पीडा दिने काम भएको भन्दै न्यायको लागि सञ्चारकर्मी गुहार्नुपरेको उनले बताए । आफूजस्ता पहुँच नभएको व्यक्तिलाई न्याय पाउन गाह्रो रहेकोले न्यायका लागि आवाज उठाइदिन पत्रकारलाई उनले आग्रह गरेका छन् ।
रौतहट
प्रतिक्रिया