लालबन्दी । सर्लाहीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । छिमेकी मुलुक भारतसँगको खुला सिमानाका कारण पनि जिल्लामा आपराधिक गतिविधि बढेको सुरक्षा निकायको ठहर छ । यसैबीच चार वर्षीय बालकको अपहरण गरेको आरोपमा प्रहरीले भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सितामढी बथुवारा–१, निवासी २७ वर्षीय अतावुल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार अन्सारीले बुधबार दिउँसो जिल्लाको पर्सा गाउँपालिका–२ संग्रामपुरमा मामाको घरमा आएका भारतकै सितामढी सोनवर्षा जानकी नगर–१ दरबारका चार वर्षीय अंकितकुमार रामलाई अपहरण गरेका थिए । बालक राम कुरकुरे खरिद गर्न बजार निस्किएको मौका पारेर उनले अपहरण गरेको बताइएको छ ।
बालकको हात समातेर जबरजस्ती तानेर लग्ने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पंजियार थारूले बताए । बालक रामको उद्वार गरी उनको बुबाको जिम्मा लगाइएको र उनलाई अपहरण गर्ने अन्सारीलाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । यस्तै सर्लाही प्रहरीले चोरीको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । लालबन्दी–६ जनवादी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले चोरीको बिआर ०६ जिए ५१८८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले ट्रक चालक भारतको मोतिहारी थाना मधुवन–१ बस्ने २५ वर्षीय पप्पुकुमार यादव र सहचालक मोतिहारीकै २४ वर्षीय कुन्दन प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सवारीसहित उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले ट्रकको कागजपत्र चेक गर्दा उक्त सवारी दर्ता किताबमा रहेको इन्जिन नम्बर र च्यासिसमा फरक परेको बताए । प्रहरीले सबै प्रकारको भेरिफाइ गर्दा समेत नमिलेपछि सोधखोज गर्दा ट्रक चोरी गरिएको फेला पारेको जनाएको छ ।
त्यसैगरी बोल्न नसक्ने एक १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार ३५ बर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गएको वैशाख ७ गते ईश्वरपुर–१० स्थित फुलजोर खोलामा राम्ररी बोल्न नसक्ने बालिकालाई बलात्कार गरेर फरार वडा–८ रामपुरका टेके रम्तेल(सार्की)लाई प्रहरीले ११ महिनापछि पक्राउ गरेको हो ।
पीडित बालिकालाई अहिले सदरमुकाम मलंगवास्थित सेफ हाउसमा राखिएको छ । जबरजस्ती करणीबाट गर्भवती भएकी बालिकाले गएको पुस १५ गते छोरालाई जन्म दिएको भए पनि एक महिनापछि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आफ्नै घरमा लुकेर बसेका रम्तेललाई घरबाटै पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही
प्रतिक्रिया