गौर । नेपालको बज्जिका मातृभाषी क्षेत्रमा परम्परादेखि रहेका लोकपर्वहरूले बिस्तारै पहिचान स्थापित गर्दै छ । मुख्य गरी बाराको पूर्वी क्षेत्रदेखि महोत्तरीसम्म बोलिने बज्जिका भाषाको क्षेत्रमा प्रचलनमा रहेका मौलिक अनुष्ठानमध्ये मधानीले विस्तारै पहिचान बनाउँदै लगेको हो ।
भगवान शिव र पार्वतीबीचको विवाहलाई कामरनाथुहरूद्वारा लोकगीत, लोकनृत्य तथा मञ्चन र प्रदर्शन गरी मनाइने रात्रीको अनुष्ठान नै मधानी यज्ञ हो । विशेष किसिमका परम्परागत बोलबमहरूलाई स्थानीय बज्जिका भाषामा कामरनाथु भन्ने गरिन्छ ।
भगवान् शिवको बरियात (जन्ती) सजाएर पार्वतीसित विवाह गर्नजाने र त्यहाँ विवाह सम्पन्न भएर दुलही पार्वतीको बिदाइ गरिँदासम्मको सम्पूर्ण कथानकलाई मुख्यतया गीतिलयमा कामरनाथुहरूले रातभर प्रस्तुत गर्दछन् । विवाहमा कुनै पण्डित पुरोहितको आवश्यकता नपर्ने तथा सम्पूर्ण विवाह विधिहरू बज्जिकाञ्चल क्षेत्रमा प्रचलनमा रहेको वैवाहिक परम्पराअनुसार सम्पन्न हुने भएकोले मधानीलाई पूर्ववैदिक अनुष्ठान पनि भनिएको हो ।
माघ, फागुन र वैशाख महिनामा मात्र मधानी अनुष्ठान गरिन्छ । बाराको पूर्वी भाग, सम्पूर्ण सर्लाही र रौतहट तथा महोत्तरीको पश्चिमी भागमा परम्परादेखि चलनमा रहेको मधानी अनुष्ठानलाई केही वर्षदेखि रौतहटको मौलापुर नगरपालिकाले प्रबद्र्धन गरिरहेको छ ।
२०७६ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भन्डारीबाट मधानी महोत्सवको उद्घाटन गराइएको थियो । त्यसपछि हरेक वर्ष भारतीय भोजपुरी तथा हिन्दी सिनेमाका चर्चित कलाकार र गायकलाई मौलापुर नगरपालिका–५ पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा बोलाएर प्रवद्र्धन गर्दे आइएको छ । नेपाली सिनेमाका कलाकार तथा गायकहरूदेखि स्थानीय कलाकारहरूको प्रदर्शन र हरेक वर्ष भारतीय र नेपाली चर्चित कुस्ती खेलाडीहरूको पनि दंगल हुने गरेको मौलापुरमा मधानी महोत्सव महाशिवरात्रीको अवसरमा हुने गरेको छ ।
महोत्सवमा हरेक वर्ष कम्तीमा पाँच लाख दर्शक तथा श्रद्धालुहरू आउने गरेको नगरपालिकाको दाबी छ । गत वर्ष करिब १० लाख पर्यटक मेला भर्न आएको र करिब १० करोडको व्यापार भएको दाबी गर्दै नगरप्रमुख रिनाकुमारी साहले यस वर्ष पनि भारतीय चर्चित सिने कलाकार गोविन्दा र गोल्ड मेडल विजेता बबिता फोगाट आएको जानकारी गराएकी छन् ।
लोप हुने अवस्थामा पुगेको मधानी यज्ञलाई मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि प्रवद्र्धन गरेर विश्वमा पहिचान दिलाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराए । यस वर्षको मधानी महोत्सवको लागि नगर परिषद्बाट ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।
चार दिनसम्म चल्ने मधानी महोत्सवको पहिलो दिन बुधबार शिवजीको जन्ती निकालिएको र बिहीबार मधेस प्रदेशको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलबाट विशेष पूजा गराई शिव नृत्य प्रदर्शन गरियो ।
भारतको झारखण्डमा रहेको प्रसिद्ध बाबाधाम मन्दिरका पूजारीबाट पुरातात्विक महादेव मन्दिरमा विशेष पूजा अर्चना पनि गराइएको नगरप्रमुख साहले बताइन् । मधानी महोत्सवमा महाशिवरात्रीको दिन हिन्दी सिनेमाका कलाकार गोविन्दा र नेपाली सिनेमाका चर्चित कलाकार पल साहका साथै विभिन्न भारतीय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । यसै गरी शनिबार गोल्ड मेडलिस्ट कुस्ती खेलाडी फोगाटका साथै नेपाल र भारतका चर्चित कुस्ती खेलाडीको कुस्ती प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले मधानी महोत्सवको आयोजना गर्ने गरिएको बताउँदै मौलापुर नगरपालिकाले स्थानीय संस्कृतिको पहिचान गराउनु स्थानीय सरकारको कर्तव्य भएको तर्क दिँदै आएको छ ।
प्रतिक्रिया