मिथिला मध्यमा परिक्रमा पडावस्थलहरूमा मांस मदिरा निषेध

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाको पडावस्थलहरूमा दुई दिन मांस मदिरा विक्रीवितरण प्रतिबन्ध हुने भएको छ । परिक्रमामा डिजे बाजामा धार्मिक गीतबाहेक अन्य गीत बजाउन नपाउने लगायतका आठ बुँदे निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ ।

‘परिक्रमा क्षेत्रमा परापूर्वकालदेखि चलिआएको परिक्रमा पर्वलाई व्यवस्थित गर्न÷गराउनका लागि प्रत्येक पडावस्थलमा पवित्र डोला विश्राम हुने भएकाले पडावस्थलहरू र सोको एक किमी वरपरको क्षेत्रमा २४ घण्टा अगावैदेखि ४८ घण्टाका लागि माछामासु बेचबिखन पशुपंक्षी काटमार र मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गर्ने’ बुधबार बसेको सुरक्षा निकायसहितको बैठकले गरेको निर्णयमा उल्लेख छ ।

परिक्रमाको क्रममा चर्को आवाजमा धार्मिक बाहेकका गीतहरू डिजे बजाउन निषेध गर्ने लगायतको निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

परिक्रमा मार्गमा पर्ने स्थानीय पालिकाहरूलाई समन्वय गरी स्वास्थ्य, विद्युत्, खानेपानी टेलिकम, सड़क, ट्राफिकलगायत व्यवस्थापन गर्ने, सहभागी डोलाहरू निर्धारित स्थान र समयबाट प्रस्थान भइसकेपछि परिक्रमा मार्गमा विगतदेखि चलिआएको परम्पराअनुसार व्यवस्था मिलाउन जनकपुरधाम क्षेत्र विकास परिषद्ले समन्वय गर्ने, परिक्रमा अवधिभर सुरक्षा निकायबाट समन्वयात्मक रूपमा सुरक्षा योजना बनाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लगायतको निर्णय गरिएको छ । परिषद्ले परिक्रमा व्यवस्थापनका लागि सम्बन्धित पक्षको बैठक बोलाएर थप निर्णय गर्ने लगायतको आठ बुँदे निर्णय भएको प्रजिअ पाण्डले बताए ।

विश्वकै ठूलो पद यात्रा आगामी २७ फागुनदेखि धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीबाट सुरु हुने तयारी छ । फागुने औँशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनाँै धार्मिक ऐतिहासिक ठाउँहरूको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू–भागको यात्रा गरिन्छ । जसमा हजारौँ श्रद्धालु भाग लिने गर्दछन् ।

१५ दिने परिक्रमाअन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण(भारत), विसौल(भारत) र यात्राको अन्तिम दिन अर्थात १५आँै दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुने गर्दछ । नेपाल–भारत बीचको सदियौँदेखि रहिआएको मधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाले सेतुको भूमिका खेलेको छ ।

प्रतिक्रिया