रौतहट । सर्लाहीको सबैभन्दा ठूलो मातृभाषाको रूपमा रहेको बज्जिका भाषाको पहिलो संस्था जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भएको छ । जिल्लाको सबैभन्दा ठूलो भाषाको रूपमा रहेको बज्जिका भाषाको पहिलो संस्था बज्जिका साहित्य समाज सर्लाही विधिवत रूपमा २२ फागुनमा दर्ता भएको हो ।
समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले मंगलबार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम नरेश रामको हस्ताक्षरबाट सर्लाहीमा बज्जिका भाषा र साहित्यको पहिलो औपचारिक संस्थाको दर्ता प्रमाणपत्र प्राप्त भएको बताएका छन् ।
सर्लाहीको कुल जनसंख्या ८ लाख ६२ हजार ४ सय ७० रहेकोमा बज्जिका मातृभाषीको संख्या ५ लाख ९ हजार ५ सय ८८ रहेको छ । सर्लाहीमा ३५ भाषा बोलिने गरेको राष्ट्रिय जनगणना २०७८ को जनगणनाको तथ्यांक रहेको छ ।
मधेस प्रदेशको प्रदेशसभामा सबैभन्दा बढी बज्जिका मातृभाषामा सांसदले सपथ लिएका थिए । मधेस प्रदेशमा दोस्रो ठूलो पितृभाषा र तेस्रो ठूलो मातृभाषाको रूपमा बज्जिका रहेको छ । सर्लाहीको सबैभन्दा भाषाको रूपमा रहेको बज्जिकाको पहिलो संस्थाले औपचारिकता प्राप्त गरेपछि बज्जिका मातृभाषी खुसी छन् ।
बज्जिका भाषाको प्रचारप्रसार, साहित्यको लेखन तथा साहित्य गोष्ठीको आयोजना र बज्जिका भाषाका कृतिहरूको प्रकाशन गर्ने मुख्य कार्यक्रमहरू आगामी दिनमा क्रमशः गरिने समाजका संस्थापक अध्यक्ष कुशवाहाले प्रतिक्रिया दिए ।
बज्जिका साहित्य समाज सर्लाहीको उपाध्यक्षमा श्रीमती शैलियादेवी ठाकुर, सचिवमा मुकेशकुमार मिश्र, सहसचिवमा ललिता साह, कोषाध्यक्षमा चन्द्रशेखर रस्तोगी तथा सदस्यहरूमा मनमोहन सिंह मनोहर, राजेन्द्र ठाकुर, सञ्जयकुमार साह, श्रीमती ललितादेवी यादव रहेका छन् ।
नेपालका बज्जिका भाषाका प्रथम साहित्यकार सञ्जय साह मित्रले सर्लाहीमा बज्जिका भाषाको पहिलो संस्थाले औपचारिकता पाउनु अभूतपूर्व खुसीको कुरा भएको बताउँदै बज्जिका जागरणमा सर्लाही औपचारिक रूपले अगाडि बढेको बताए ।
बज्जिका भाषाको सर्लाहीमा पहिलो संस्था दर्ता भएको भए पनि रौतहटमा भने करिब आधा दर्जन संस्था दर्ता भएर केही क्रियाशील पनि रहेका छन् । बज्जिका भाषा र साहित्यको क्षेत्रमा सर्लाहीमा नयाँ युगको सुरुआत भएको मित्रको भनाइ छ । यसै गरी बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले मधेस प्रदेशको दुई जिल्लामा बज्जिका संस्थाको विस्तार भएको र अन्य जिल्लामा पनि विस्तार हुने आशा पलाएको बताएका छन् ।
सर्लाहीबाट बज्जिका भाषाको त्रैमासिक पत्रिका बज्जी नियमित रूपमा प्रकाशन हुँदै आएको छ । यसै गरी हरेक वर्ष दुई–चार ओटा साहित्यिक कृतिहरू पनि प्रकाशन हुँदै आएका छन् । तर, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पहिलो संस्था भएकोले यसको विशेष महत्व रहेको संस्थापक अध्यक्ष कुशवाहाको भनाइ छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया