लालबन्दी नगर अस्पतालमा शल्यक्रिया बिधिबाट प्रसूति सेवा सुरु

लालबन्दी । सर्लाहीको लालबन्दी नगर अस्पतालमा शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु भएको छ । वडा–९ डुमडुमेमा रहेको अस्पतालमा आवश्यक जनशक्ति र उपकरण जुटाएर शल्यक्रिया विधिबाट प्रसूति गराउने सेवा सुरु गरिएको हो ।
नगर अस्पतालका इन्चार्ज एवं प्रसूति रोग विशेषज्ञ डा.रामविश्वास रायका अनुसार सोमबार साँझ पहिलोपटक सिराहाको मिर्चैया घर भई सिन्धुलीे माइती घरमा बस्दै आएकी १९ वर्षीया चण्डिका मगरको शल्यक्रिया (सिएस) गरेर प्रसूति गराइएको हो । उनलाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको भए पनि प्राकृतिक हिसाबले सुत्केरी नभएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको डा.रायले जानकारी दिए ।
अस्पतालका इन्चार्ज डा.रायसहित एनेस्थेटिीट अनिल कापर, ओटी नर्स बबिता कुमारीसहितको टोलीले शल्यक्रिया गरेका थिए ।

मगरको प्रसूति हुने म्याद १० दिन नाघिसकेको र तीन दिनदेखि प्रसव बेथा लाग्दा पनि बच्चा जन्मिन नसकेकाले परिवारको सल्लाहमा सिएस गरेको हो । यो पहिलोे शल्यक्रिया रहेको इन्चार्ज डा.रायले खुसी हुँदै सुनाए ।
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा सुरु भएसँगै यहाँका स्थानीय खुसी भएका छन् । अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सक राखेर सेवा सुधार गरिएसँगै बिरामीको चाप बढ्न थालेको छ । लालबन्दी नगरपालिकाले समेत नगर अस्पताललाई विशेष ध्यान दिएको नगरप्रमुख बासुदेव अधिकारीले बताए । लालबन्दी नगर अस्पतालमा पहिलोपटक शल्यक्रिया सफल भएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख अधिकारीले यसलाई अझ प्रभावकारी र नियमित गर्न आवश्यक उपकरण र जनशक्ति थप गर्दै जाने प्रतिक्रिया दिए ।

प्रतिक्रिया