लालबन्दी । सर्लाहीको हरिपुरमा २५ देखि ३० फागुनसम्म मेला लाग्ने भएको छ । महाशिवरात्री पर्वको अवसर पारेर श्री लक्ष्मीनाथ महादेव मन्दिर विकास समितिको आयोजनामा चिताइन मेला लाग्न लागेको हो । हरिपुर नगरपालिका–७ मा रहेको लक्ष्मीनाथ चिताइन महादेव मन्दिरमा लाग्ने मेलाको बारेमा मंगलबार मेला आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
करिब ४३ वर्ष लामो इतिहास बोकेको मन्दिरलाई मधेस प्रदेश सांसद बेची लुंगेलीको विशेष पहलमा पुनःनिर्माण गरिएपछि झनै आकर्षक देखिएको छ । सो मन्दिरमा दर्शन गरी वा भाण्टाको भार बनाई चढाएमा चिताएको पूरा हुने र मुसा, कोठी तथा चर्मरोग निर्मुल हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास छ ।
कार्यक्रममा मेला आयोजक समितिका अध्यक्ष राजेन्द्र धामीले ऐतिहासिक चिताइन मेलालाई सफल पारिदिन सबैसँग आग्रह गरे । त्यसैगरी हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पञ्जियारले मन्दिरको पुनर्निमाण, व्यवस्थापन र रेखदेखमा धेरै ढिला गरिएको आफूले महसुस गरेको बताए ।
उनले पहिलापहिला एक महिनासम्म मेला लाग्ने गरेको सम्झिँदै आफ्नो शरीरमा निस्किएका धेरै घाउ मन्दिरमा पूजा गरेकै कारण निको भएको बताए । त्यो बेला चिताइन मेलामा छिमेकी मुलुक भारतका विभिन्न ठाउँदेखि रामेछाप, दोलखासम्मका भक्तजनहरू दर्शन गर्न, घुम्न र ब्यापार गर्न आउने गरेका नगरप्रमुख पञ्जियारले बताए ।
मन्दिरको संरक्षण, प्रचारप्रसार लगायतका कार्यलाई प्राथमिकता दिनसके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने र त्यसले नगरको समृद्धिमा टेवा पुग्ने मेयर पञ्जियारले बताए । वर्षमा एकपटक लाग्ने मेलाको ठेक्का नै मेलाको आम्दानीको मुख्य स्रोत हो । यस वर्ष १३ लाखमा मेला ठेक्का लागेको श्री लक्ष्मीनाथ चिताइन महादेव मन्दिर विकास समितिले जनाएको छ ।
सर्लाही
प्रतिक्रिया