हेटाैँडा राष्ट्रिय भेलाले चलचित्र पत्रकारलाई निखार्ने काम गर्यो : उपाध्यक्ष गिरी

काठमाडौं । कुबेर गिरी नेपाल चलचित्र पत्रकार संघको केन्द्रीय उपाध्यक्ष हुन् । चलचित्र पत्रकारिताको करिब दुई दशकको अनुभवपछि उनी संस्थाको नेतृत्व तहमा आएका हुन् । टेलिभिजन, छापा हुँदै अनलाइन पत्रिकालगायतमा चलचित्र पत्रकारिता गर्दै आएका गिरीले आफूलाई चलचित्र पत्रकारितामा स्थापित गराएका छन् ।

उपाध्यक्ष गिरीको नेतृत्वमा चलचित्र पत्रकार संघले गत फागुन ५ देखि ८ गतेसम्म हेटौँडामा प्रथम राष्ट्रिय भेलासमेत सम्पन्न गरेको छ । उक्त भेलाले चलचित्र पत्रकारलाई निखार्ने काम गरेको गिरी बताउँछन् । चलचित्र पत्रकारिताको पछिल्लो अवस्थाको विषयमा उपाध्यक्ष गिरीसँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको संक्षिप्त कुराकानी :

० पछिल्लो समय के–केमा व्यस्त हुनुहुन्छ ?

–चलचित्र पत्रकारको हकहितका क्रियाकलापमा नै क्रियाशील छु । भर्खरै चलचित्र पत्रकार संघको पहिलो राष्ट्रिय भेला हेटौँडामा सम्पन्न गरेका छाँै । गत फागुन ५ देखि ८ गते आयोजना भएको भेलाले देशभरका चलचित्र पत्रकारलाई जोड्ने काम गरेको छ । संघको कार्यक्रम उपाध्यक्ष म भएकाले त्यो कार्यक्रम मेरै नेतृत्वमा सम्पन्न भएको थियो । अबका दिनमा के कस्तो कार्यक्रम गर्ने भन्ने प्लानिङमा छु ।

० स्थापनाको २५ वर्ष पूरा गरेपछि संघको पहिलो राष्ट्रिय भेला भयो नि ?

–२५ वर्षको इतिहास बोकेको चलचित्र पत्रकार संघले यसअघि भेला नगरेको कारण यसलाई पहिलो राष्ट्रिय भेला भनिएको होइन । संघले बेलाबेलामा विभिन्न भेला, कार्यशाला, सम्मान, गोष्ठीलगायतका कार्यक्रम आयोजना गर्दै आएको छ । म कार्यसमितिमा आए पनि ९ वटा शाखा रहेको चलचित्र पत्रकार संघले देशभर १३ वटा शाखा, २ प्रदेश कमिटी गठन गर्न सफल भएको छ । सबै शाखा र केन्द्रीय सदस्यसहितको एउटै कार्यक्रम गरौँ भनेर हामीले यसलाई प्रथम राष्ट्रिय भेला भनेका हौँ । यो भेलामा देशभरबाट चलचित्र पत्रकारिता गर्ने पत्रकारको सहभागिता रहेको थियो । चलचित्र पत्रकारमात्र होइन, चलचित्रकर्मीको पनि बाक्लै जमघट रह्यो ।

० भेलाको उद्देश्य के थियो ? त्यो पूरा भयो कि भएन ?

– हेटौँडा राष्ट्रिय भेलाको पहिलो उद्देश्य भनेको देशभरका चलचित्र पत्रकार संगठित हुने र एकअर्कामा परिचित हुने हो । त्यसमा हामी सफल भयौँ । त्यसपछिको उद्देश्य संस्थाको साधारणसभा, विधानसभा, अन्तरक्रिया, कार्यशालालगायतका विभिन्न कार्यक्रम थियो । त्यो पनि हामीले सम्पन्न गरेका छौँ । भेलाले चलचित्र पत्रकारिता क्षेत्रमा मात्र होइन, पूरै पत्रकारिताक्षेत्रमा समेत राम्रो सन्देश दिएको छ ।

० अन्तरक्रिया र कार्यशाला भन्नाले ?

–हेटौँडा भेलामा हामीले नेपाली चलचित्र र चलचित्र पत्रकारितामा केन्द्रित रहेर विभिन्न बहससमेत चलाएका थियौँ । जसले चलचित्रक्षेत्र र चलचित्र पत्रकारलाई अगाडि बढ्न मार्गनिर्देशको कामसमेत गरेको छ । कार्यशालामा हामीले सबै चलचित्र पत्रकारको पत्रकारिताको सिलसिलामा आइपरेका अप्ठ्यारा पहिल्याएर उनीहरुको क्षमता निखार्ने काम गरेका छौँ । जसमा नेपालको अनलाइन पत्रकारितामा टप प्रधानसम्पादक अरुण बराल र सम्पादक चिरञ्जीवी पौडेल प्रशिक्षक रहनुभएको थियो । प्रशिक्षकले वर्तमानमा चलचित्र पत्रकारिताको अवस्था र अगाडि बढ्न गर्नुपर्ने क्रियाकलाप, पत्रकारिताको नम्स्, पत्रकारको स्वभावलगायत विषयमा प्रशिक्षण दिएका थिए । उक्त अवसरमा सबै चलचित्र पत्रकारले आचारसंहिता, हार्डन्युजदेखि फिचर राइटिङसम्म सिक्ने अवसर प्राप्त गरे ।

० सिक्ने कुरोमा पत्रकारको चासो रहँदैन भनिन्छ, हेटौँडाको अनुभव कस्तो रह्यो ?

– त्यो गलत हो । पत्रकारले अन्य व्यक्तिभन्दा हरेक कुराले अगाडि हुनुपर्छ । त्यसैले त उसले सबैभन्दा पहिले सूचना पाउँछ र त्यो सूचना अरुसम्म पु¥याउँछ । अन्य पत्रकारको हकमा के हो म भन्न सक्दिन । चलचित्र पत्रकारहरु भने सिक्ने कुरोमा सधै अगाडि छन् । हेटौँडाको कार्यशालामा देशभरबाट करिब १५० चलचित्र पत्रकार र अन्य केही पत्रकारको सहभागिता थियो । सबैको कार्यशालामा चासोपूर्वक सहभागिता थियो । त्यो देख्दा हामी आयोजकलाई पनि निकै खुसी महसुस भयो ।

० हेटौँडामा त्यति ठूलो कार्यक्रम सम्पन्न गर्नुभयो । संघको आयस्रोत त्यस्तो केही देखिन्न । कसरी भयो सम्भव ?

– राम्रो कार्यक्रम गर्न आँट गर्नुपर्छ । हामीले पवित्र उद्देश्यले सबै पत्रकारको विकासमा ध्यान दिएर हेटौँडा कार्यक्रम आयोजना गरेका थियौँ । त्यो कार्यक्रममा हामीलाई सहयोग गरेर साथ र हौसला दिन चलचित्र विकास बोर्ड, प्रदेश सरकार, विभिन्न चलचित्रका संघ–संस्थादेखि चलचित्रकर्मीसम्मले सहयोग गर्नुभयो । यो साथ र सहयोगका लागि चलचित्र पत्रकार संघको तर्फबाट म सबैलाई धन्यवाद भन्छु ।

० चलचित्र पत्रकारितामा पछिल्लो समय केही विकृति छायो भनिन्छ नि ?

–विकृति कुन क्षेत्रमा छैन र ? । जुन क्षेत्रका मानिसको भीड हुन्छ । त्यो क्षेत्रमा अलिअलि विकृति देखिन्छ । त्यो हामीले हटाउने हो । चलचित्र पत्रकारितामा बढ्दो विकृतिप्रति सचेत गर्न र चलचित्र पत्रकारबाट हुन नदिन हाम्रो हेटौँडामा कार्यशाला सफल भएको छ भन्ने मलाई लाग्छ । हेटौँडा कार्यशालापछि चलचित्र पत्रकारितामा देखिएको विभिन्न विकृति हटेर जानेछ ।

० हिजो र आजको चलचित्र पत्रकारितालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–हिजोको पत्रकारिता निकै कठिन थियो । पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्र्यो । अहिलेको जस्तो अनेक सुविधा थिएन । यो क्षेत्रमा लाग्नेको इज्जत राम्रो थियो । पत्रकारितामा पनि राम्रो थियो । मानिसहरु आँखा चिम्लेर विश्वास गर्थे । पहिलेको तुलनामा अहिले अवसर धेरै छन् । प्रविधिको विकासले पत्रकारिता पनि सजिलो भएको छ । तर प्रविधिको विकाससँगै पत्रकारिताप्रतिको विश्वास र लोकप्रियता पनि गुम्दो छ । त्यो जोगाउनु अहिलेको चुनौती हो । त्यसैले पनि हामी चलचित्र पत्रकारितामा लागेकालाई सक्षम बनाउनु पर्छ भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छौँ ।

० चलचित्र तथा मनोरञ्जन पत्रकारिता व्यवस्थित बनाउन के गर्नुपर्ला ?

–चलचित्र, मनोरञ्जन पत्रकारिता व्यवस्थित बनाउन हामीले यसमा देखिएको विकृति, विसंगति बेलाबेलामा केलाउनुपर्छ । यहाँ रहेका व्यक्तिको समस्या, अप्ठ्यारा पहिचान गर्दै समाधानको बाटो खोज्नुपर्छ । बेलाबेलामा समयसापेक्ष तालिम, गोष्ठीको व्यवस्था गर्नुपर्छ । अहिलेको समय यो सबै क्रियाकलाप संघले गर्दै आएको छ ।

प्रतिक्रिया