बिर्तामोड । एपीएफ फुटबल क्लब झापाको बिर्तामोडमा जारी आयोजित छैटौँ झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती यूथ क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
टाई ब्रेकरमा एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदीप लामाले गोल गरे । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे । सो टोलीका निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।
एपीएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परे पनि त्यस पछि भएका नकआउट प्रतियोगितामा राम्रो प्रदर्शन गरी रहेको छ । एपीएफले पहिलो चरणको खेलमा टाई ब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको हो ।
सी डिभिजनको बागमती यूथ क्लबले झापा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन । उमेर समूहमा उत्कृष्ट नतिजा दिलाएका प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा बागमतीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरी रहेको छ । सुनिलकै प्रशिक्षणमा यसै वर्ष सम्पन्न ए डिभिजन लिगमा जाउलाखेल यूथ क्लबले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।
सोमबार भएको खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।
पहिलो हाफको इन्जुुरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो ।
खेलको ५४ औँ मिनेटमा एपीएफका दीपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपीएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।
बागमती यूथ क्लबका प्रशिक्षक श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए । उनले झापा जस्तो प्रतिष्ठित गोल्ड कपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे । टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए । जर्सी अभावका कारण एपीएफले टेप टाँसेर खेल खेलाएको थियो ।
एपीएफको प्रशिक्षक सुमन श्रेष्ठले पनि पाएको अवसरको उपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।
खेलको प्लेयर अफ द म्याच एपीएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।
मंगलबार दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबिच हुनेछ ।
प्रतिक्रिया