काठमाडौं । मन्त्रालयको भागवण्डा लगाउन नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्ने भएको छ ।
सोमबार पुरानो सत्ता गठबन्धन भत्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्य नयाँ गठबन्धनका नेताहरु मन्त्रालयको भागवण्डा लगाउन आन्तरिक छलफलमा जुटेका हुन् । कार्यदलको बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ ।
कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।
आजको बैठकमा मन्त्रालयको भागवण्डाको विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद (डीपी) अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा सपथ लिएका छन् ।
प्रतिक्रिया