मधेसमा लाहीको प्रकोपले सखाप हुँदै तोरीबाली

रौतहट । ढिलो उत्पादन हुने तोरीबालीमा लाही किराको प्रकोप देखिएपछि सर्वसाधारण किसान निराश भएका छन् । फागुनमा फूल लाग्ने र चैतमा पाक्ने अग्लो जातको तोरीमा लाही किराको प्रकोप देखिएको हो ।

रौतहटको माधवनारायण नगरपालिका–४ का बिलट मुखियाले ढिलो उत्पादन हुने तोरीमा लाहीको प्रकोप अत्यधिक मात्रामा देखिएको बताए । अत्यधिक मात्रामा लाही किरा लागेर ढिलो उत्पादन हुने अग्लो जातको तोरीमा अहिलेसम्म करिब अस्सी प्रतिशतले नोक्सानी पु¥याइसकेको मुखियाले बताए ।

यसैगरी गरुडा नगरपालिका–२ का रामबाबु साहले सामान्यभन्दा अग्लो बोट हुने तोरीको ढिलो फल्ने जातमा लाही किरा लागेर बर्बाद पारेको बताए । केही मात्रामा गहुँबालीमा पनि लाही किरा लागेको बताउँदै साहले ढिलो जातको तोरी उत्पादनमा किसानलाई लाही किराले ठूलो नोक्सान पु¥याएको जानकारी दिए । सर्लाही, रौतहट र बारादेखि मधेशका अधिकांश जिल्लामा अहिले फूल लागेको र फल्न लागेको तोरी जातमा लाही किराको धेरै प्रकोप देखिएको छ ।

सर्वसाधारण किसानले मसुरो, गहुँ र अन्य बालीमा मिश्रित रुपमा अग्लो बोट हुने जातको तोरी लगाउँछन् । मिश्रित बालीको रुपमा तोरी हुने गरेको भए पनि किसानलाई निकै राम्रा् उत्पादन दिने गरेको किसानहरुको भनाइ छ । एक कट्टामा दशदेखि पच्चीस किलोसम्म मिश्रित रुपमा तोरी फल्दा मसुरो, आलस तथा गहुँलाई खासै नोक्सानी पुग्ने गरेको हुँदैन । किसानलाई वर्षभरि तोरीको घरायसी प्रयोजन पूरा गर्न तथा बेचेर आम्दानी दिन पनि मिश्रित तोरी बालीको भूमिका हुने गरेको किसानहरु बताउँछन् ।

गत असोज महिनादेखि यता पानी नपरेको तथा निकै कडा घाम पनि नलागेको कारण लाही किराको अनुकूल मौसम हुन पुगेको किसानहरुको अनुमान रहेको छ । लाही किराले खाएको तोरी राम्रो नहुने, दाना मसिनो हुने तथा कतिपय अवस्थामा शत प्रतिशत खत्तम हुने पनि देखिएको छ ।

मिश्रित बालीको रुपमा नभई तोरीको मात्र खेती गर्ने किसानले लाहीविरुद्ध औषधि छर्ने गरेको तर मिश्रित खेती गर्दा तोरीको लागि मात्र औषधि छर्दा किसानलाई नोक्सान हुने गरेको कटहरियाका किसान असर्फी दासको छ । दासले भने, ‘ढिलो उत्पादन हुने र अग्लो बोट हुने तोरीको झारमा औषधि निकै खर्च लाग्छन ।’

लाही किराले तोरी बालीलाई सखाप पारिरहँदा पनि टुलुटुलु हेरिरहनु बाहेक कुनै विकल्प नभएको किसानहरुको दुःखेसो छ । लाही किराबाट जोगाउन तोरीमा खरानी छर्ने गरे पनी खासै फाइदा नभएको तोरी किसान बिलट मुखियाले बताए । तराई मधेशमा ढिलो जातको तोरी बालीमा लाही किराको प्रकोपले निकै धेरै क्षति पुर्याएको पाइएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया