शालिन पोखरेलको मृत्युबारे जथाभावी बोलेको आरोपमा पुण्य गौतम र युवराज सफल पक्राउ

काठमाडौं । चितवनमा बालिकाको मृत्युबारे जथाभावी बोलेको आरोपमा प्रहरीले आफूलाई सामाजिक अभियन्ता बताउने पुण्य गौतम र युवराज (पौडेल) सफललाई पक्राउ गरेको छ । उनीहरुलाई आइतबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गर्न खोजेपछि त्यहीँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरखाकी बालिका शालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए । झुण्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थियो । बलात्कारपछि उनको हत्या गरिएको परिवारको आरोप छ ।

पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । यही फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलभित्र झुण्डिएको अवस्थामा बालिका पोखरेलको शव फेला परेको थियो ।

उनको मृत्युबारे विभिन्न टिप्पणी दिँदै आइतबार पक्राउ परेका गौतम र सफल आफूलाई अभियन्ता बताउँदै युट्युबमा अन्तर्वार्ता दिएर भाइरल हुँदै आएका छन् ।

प्रतिक्रिया