सुर्खेत । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ नाराका साथ पहिलो पटक कर्णाली प्रदेशमा प्रादेशिक प्रदर्शनी सुरु भएको छ । बिहीबारबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल कमर्सियल आर्टिस्ट संघ सुर्खेत जिल्ला समितिको सहकार्यमा सुरु भएको पाँचदिने प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एक समारोहका बीच गरे । प्रतिष्ठानले सातै प्रदेशमा गर्न लागेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णाली प्रदेशको सुर्खेतबाट सुरू भएको हो ।
मुख्यमन्त्री शर्माले हामीसँग भएका तमाम प्राकृतिक क्षमता, कलालाई कसरी प्रस्टफुटित गर्ने, अभिव्यक्ति गर्ने र यसलाई विश्वसामु कसरी चिनाउने भन्ने कुरा अहिलेको चुनौती भएको बताए । उनले कला र संस्कृतिको विकासविना राज्य समृद्ध बन्न नसक्ने धारणा व्यक्त गरे । उनले भने, ‘कला क्षेत्रलाई माथि उठाउने कुरा सबै मिलेर मात्र सम्भव छ । यसमा कर्णाली प्रदेश सरकार प्रतिष्ठानसँग सहकार्य गर्न सदैव तयार छ ।’ प्रदर्शनीमा ४६ जना कलाकारका ६६ वटा कलाकृति समावेश गरिएको बताउँदै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संस्थागत नेतृत्व गर्ने अर्थमा प्रज्ञा–प्रतिष्ठान रहेको तर कला सिर्जना गर्ने कुरामा भने कलाकारहरू नै रहेको बताए । उनले समृद्ध समाज निर्माणमा कला र संस्कृतिको भूमिका विशिष्ट रहने विचार व्यक्त गरे । उनले भने, ‘प्रदर्शनीलाई विगतमा सिधै केन्द्र भनेर काठमाडौं केन्द्रित गरिएको थियो ।
अहिले हामीले त्यसलाई फरक ढंगले अगाडि बढाउँदै संघीयताको भाव र मर्मलाई आत्मसात् गर्दै कार्यक्रम गरेका हौं । प्रदेश प्रदर्शनी त्यसैको कडीका रुपमा गरिएको हो ।’ उनले भौगोलिक र आर्थिक रूपले सर्जकहरूको सहभागिता सहजता खासै नभएको तर पहिलो प्रदेश प्रदर्शनीले अझ बढी उत्साह जगाएको सुनाए । उनले भने, ‘यसपटक सम्मान र मूूल्याङ्कनमा पनि विशेष सुुविधा र पुुरस्कार रकम पनि विशेष थप गरिएको छ । कलाको पहिचान प्रदेश र केन्द्रमा मात्र सीमित नगरेर विश्वमा नै चिनाउनु जरूरीे छ ।’
प्रतिष्ठानका कर्णाली समन्वय समितिका संयोजक तथा प्राज्ञ पाल्साङमो लामाले नेपाली ललितकलाको जगलाई बलियो बनाउने गरी प्रदर्शनीले मार्ग कोर्नेमा आफू आशावादी भएको बताए । उनले समाज रुपान्तरणका लागि कलाको भूमिका विशिष्ट रहने भएकाले यसको विकासमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रदर्शनीले नेपाली समाजमा विकसित कलाकृतिलाई राष्ट्रको मूलधारमा ल्याउन महत्वपूर्ण सहयोग गर्नेछ ।’ लामाले कलामार्फत सामाजिक जागरण ल्याउने गरी प्रतिष्ठानले काम गरिरहेको सुनाउँदै उनले कलालाई उपार्जनसँग जोड्दै अगाडि बढ्न प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको बताए ।
जननमुना माध्यामिक विद्यालयका प्राचार्य याम श्रेष्ठ, जनसांस्कृतिक महासंघका कार्यबाहक अध्यक्ष भीम कुमाखी, डा.नवराज केसी लगायतले प्रदर्शनीको महत्वका बारेमा प्रकाश पारेका थिए । यस्तै, सो कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य झिग्मे लामा, नेपाल कमर्सियल आर्टिस्ट संघका केन्द्रीय सदस्य सुवास शाक्य, संघ सुर्खेत जिल्ला अध्यक्ष धर्म नेपाली, सचिव सुरज लामगाडे लगायतका कलाकारले प्रदर्शनीले कर्णाली प्रदेशको ललितकलाको अवस्थालाई उजागर गर्न मद्दत मिलेको बताएका थिए । कर्णाली प्रदेशको प्रदर्शनी जननमुना माविमा फागुन २१ गतेसम्म चल्ने प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया