कृषि पेशासँग जोडिएका राजनीतिकर्मी

सिरहाको धनगढीमाई नगरपालिकाका पूर्व प्रमुख (मेयर) हरिनारायण चौधरी स्थानीय स्तरमा उदाहरणीय कृषक मानिन्छन् । उनले आफ्नो ६ विघा खेतबाट वर्षको तीनबाली भित्र्याउँछन् । खेतिपाती सँगै पशुपालन पनि गरेका छन् । हिउँदको यो सिजिमा उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाइ बिघामा घाँसखेती लगाएका छन् । यसबाट १० लाख रुपैंयासम्म आम्दानी हुने उनको भनाई छ । काममा उनी आँफै खटिन्छन् । उनी प्राय जसो डोकोमा मल बोकिरहेको, गोवर फालिरहेको , बालीनाली गोडमेल गरिरहेको अवस्थामा भेटिन्छन् ।

२०७४ सालको स्थानीय निर्वाचनबाट मेयर भएका चौधरी जनप्रतिनिधिको जिम्मेवारी सकिएपछि अझै सक्रियताका कृषिकर्ममा जुटेका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहेका चौधरी स्थानीय क्षेत्रका किसानबीच उदाहरणीय बनेका छन् । उनी भन्छन्– ‘राजनीतिमा नाम छ तर विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न केही त गर्नैपर्छ , त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ ।’

आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको धारणा उनको छ । चौधरीको जस्तै सोचाई देशका पाँच प्र्रतिशत राजनीतिकर्मीहरुमा मात्रै हुने हो भने जग्गा जमिन बाँझो छाडेर युवाहरु विदेश जाने दुश्चक्रमा मुलुक फस्ँदैनथ्यो होला ।

राजनीति आँफैमा पेशा वा व्यवसाय नभएर समाज सेवाको माध्यम हो भन्ने कुरा धेरैलाई थाह छ । राजनीति कर्ममा संलग्न हुनेहरु आयमलुक पेशा वा व्यवसायमा संलग्न रहेनन् भने भ्रष्टाचार बढ्छ भन्ने कुरा पनि धेरैलाई थाह छ । किनकी जिविको पार्जनका लागि आर्थिक स्रोत चाहिन्छ । हाम्रो देशका अधिकांश राजनीतिकर्मीहरु आर्थिक उपार्जनको बैध पेशामा लागेको देखिँदैन, तर उनीहरुले गर्ने खर्च निकै ठूलो छ, उनीहरुको जीवनशैली निकै भड्किलो छ । त्यो खर्च कहाँबाट आयो ? अहिले जनताले सोध्ने गरेको प्रश्न यही हो । जनताले राजनीतिकर्मीलाई चोर भन्न थालेको यसै कारण हो । अबैध पेशा वा व्यवसाय गर्नेहरु राजनीतिमा हामी भए भने भ्र्रष्टाचार बढ्छ ।

हाम्रो देशमा भ्रष्टाचार बढ्नुको मुख्य कारण यही हो । देश संचालन गर्ने भनेको राजनीति कर्मीले हो । यति भन्दैमा पेशा वा व्यवसाय सँग जोडिएकाहरु मात्रै राजनीतिमा हावी हुनु पर्छ भन्ने होइन । पेशा वा व्यवसायका पनि विभिन्न प्रकार हुन्छन् । उनीहरुले आँगाल्ने पेशा वा व्यवसाय कस्तो हो ? भन्ने पनि महत्वपूर्ण हुन्छ । उत्पादन मुलक व्यवसाय र दलाली व्यवसायलाई एउटै टोकरीमा राखेर विश्लेषण गर्न मिल्दैन । उत्पादन मुलक व्यवसाय सँग जोडिएकाहरु नीति निर्माण तहमा निर्णायक बने भने देशको अर्थतन्त्र बलियो हुन्छ ।
हाम्रो देशमा अहिले पनि करिव ६५ प्रतिशत जनता कृषिमा निर्भर छन् । हाम्रो देशको औद्योगिकरण पनि कृषि क्षेत्रको उन्नतीबाट मात्रै संभव छ । तर कृषि पेशा हेलाँहको विषय बनेको छ । कृषकको पिडा बुझ्न नसक्नेहरु नीति निर्माण तथा कार्यान्वयन तहमा हावी भएकोले कृषकहरु पिडित छन् । कृषिलाई मुख्य पेशा वा व्यवसाय बनाउनेहरु देशको नीति निर्माण र कार्यान्वयन तहमा पुगेको भए तरकारी किसानले गोलभेँडा सडकमा ल्याएर फाल्नु पर्ने , गाई– भैंसी पालक कृषकहरुले सडकमा दुध पोखेर समेत नपुगेर दुध विक्रिबावतको रकम भुक्तानीका लागि आन्दोलन गर्नु पर्ने , उखु कृषकले पाँच वर्ष देखिको भुक्तानी नपाउने अवस्था सिर्जना हुँदैनथ्यो । न त खेतबारी बाँझो राखेर युवाहरु विदेश पलायन हुने अवस्था आउँथ्यो ।

वर्षको करिव ४ खर्ब रुपैंया बराबरको कृषि उपज विदेशबाट आयात हुन्छ , तर हाम्रा खेतबारी बाँझा छन् । कृषि क्षेत्रमा रोजगारीको अपार संभावना छ भन्ने कुरा यो तथ्यांकले देखाउँछ । दुर्भाग्यबस जो जो राजनीतिकर्मीहरु कृषि सँग जोडिन खोज्छन्, उनीहरुको राजनीतिक जीवन नै समाप्त गरिएका पीडादायी उदाहरण कयौं छन् । लोकेन्द्र विष्ट मगर ऋषिकेश तिवारी लगायत धेरैको नाम लिन सकिन्छ । कृषि पेशामा संलग्न हुनेहरुले शीर्ष नेताको चाकडी गर्न नभ्याउने , दलाली पेशमा संलग्न हुनेहरुले शीर्ष नेताको मनोकांक्षा पूर्ण गराई दिने दुश्चक्र मुलकमा चलिरहेको छ । पर्वतका पूर्व सांसद तिवारी र दाङका पूर्वमन्त्री विष्ट मगरको जस्तै सिराहका पूर्व मेयर चौधरीको राजनीति पनि समाप्त भयो भन्ने अप्रिय खवर सुन्न नपरोस् ।

प्रतिक्रिया