धनुषा । भाषा, साहित्य, संस्कृति, कला, गीत संगीत तथा नाट्य विधाको संरक्षण गर्ने उद्देश्यले मधेश प्रदेश सरकारद्वारा स्थापना भएको मधेश प्रज्ञा प्रतिष्ठानले पहिलो बार्षिकोत्सव विभिन्न कार्यक्रमको गरी मनाएको छ ।
जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरिएको एक समारोहमा मिथिला पेन्टिङ, मूर्तिकला तथा परम्परागत गीत संगितको संरक्षण तथा प्रवद्र्धनमा विशेष योगदान दिएका तीन जना स्रष्टालाई सम्मानसहित विभिन्न कार्यक्रम गरी प्रतिष्ठानले बार्षिकोत्सव मनाएको हो ।
सम्मानित हुनेहरूमा मिथिला चित्रकलातर्फ जनकपुरधाम–३ का मिथिलेश्वरी देवी कर्ण, मूर्तिकलातर्फ धनुषाको धनौजी गाउँपालिकाका प्रसिद्ध मूर्तिकार योगेन्द्र पण्डित र लोक गायनतर्फ सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वीरपुरका लोक गायक विष्णु यादव रहेका छन् । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने विभिन्न संस्कृतिसँग सम्बन्धित जातजातिहरूको नृत्य तथा संगीतका साथै बाद्यबादन प्रदर्शन गरिएको थियो । कार्यक्रममा मैथिली, थारु, तामाङसहितका जातीको भेषभूषसहितको गीतहरू प्रदर्शन गरिएको थियो । सोही अवसरमा मधेश प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्दै आएको त्रैमासिक प्रज्ञा दर्पणको लोकार्पण गरिएको छ ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले कला, साहित्य, संस्कृति र संस्कारको संरक्षणमा प्रतिष्ठानले खरो रुपमा काम गर्न जरुरी रहेको बताए । उनले संस्कृतिको नाममा अहिले बढेको विकृतिहरू रोक्नका तथा हानिकारक अध्यासहरूको विरुद्धमा घर परिवार, समाज जस्ता प्राज्ञिक संस्थाहरूले काम गर्न आवश्यक भएको बताए ।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले प्रतिष्ठानले यस क्षेत्रको ६ वटा विधाको संरक्षणका साथै अनुसन्धान तथा खोजको कामलाई अगाडी बढाइरहेको बताए । सो अवरमा उनले मधेसको इतिहास लेखनको काम सुरु भइसकेको समेत जानकारी दिए ।
प्रतिक्रिया