काठमाडौं । मन्त्रिपरिषद् हेरफेर र राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीबारेको विवादले सत्तारूढ गठवन्धनभित्र चिसोपना बढिरहँदा चितवनमा सबैजसो शिर्ष नेता एउटै मञ्चमा देखिएका छन् । झट्ट हेर्दा भरतपुर महानगरकी मेयर रेनु दहालको निम्तो मान्न पुगेको देखिए पनि प्रधानमन्त्री स्वयंको प्रयत्न बिना यो संभव नभएको बुझ्न गाह्रो छैन ।
मेयर रेनुलाई बारम्बार परिवारवादमा जोडेर उछित्तो काढ्ने प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सो मञ्चमा देखिनु कम रोचक थिएन । यो विशेष अर्थपुर्ण छ । भलै ओलीले कार्यक्रममा आफ्नै नेतृत्वको सरकारले चितवनमा गरेका कामको बखान गरेर फर्केका किन नहुन् ।
मञ्चमा ओलीको १५ मिनेट उपस्थितिले प्रधानमन्त्री प्रचण्ड र मेयर दाहालको अनुहारमा खुशी छाउनु स्वभाविक नै भयो । तर नेपाली कांग्रेस भने केही झस्किएको हुनुपर्छ ।
राष्ट्रियसभा अध्यक्षको दाबी गरेको माओवादी केन्द्रले कांग्रेसमाथि दबाब बढाइरहेको छ । यसै बेला देखिएको यो दृश्यलाई अर्थपूर्णरूपमा हेरिएको छ । कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति भएको चर्चा गरी कांग्रेसले उनलाई राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाए पनि अहिले अध्यक्षमा माओवादीले दाबी गरेपछि कांग्रेस दबाबमा परेको छ ।
सरकारको काम प्रभावकारी नभएको महसुस गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री फेर्न प्रयास गरिरहेका छन् । उनले सार्वजनिक भाषणमै मन्त्रीहरू फेर्ने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले नचाहँदा मन्त्रिहरू परिवर्तन हुनसकेका छैनन् ।
कोशी प्रदेशमा माओवादीले कांग्रेसको कारण भएको सभामुख गुमायो । बन्ने लागेको मुख्यमन्त्री पनि पाएन । कांग्रेसकै कारण राष्ट्रियसभामा एक सिट गुमायो । यसले माओवादी कांग्रेससँग रुष्ट छ ।
अर्कोतर्फ कांग्रेसको ७ देखि १० फागुनमा भएको महासमिति बैठकमा उठेको हिन्दु राष्ट्रको विषय र माओवादी ’जनयुद्ध’लाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावमा ’हिंसात्मक द्वन्द्व’ भनिएको विषयलाई लिएर माओवादीको आपत्ति छ । हिन्दु राष्ट्रको एजेन्डा पार्टीले अस्वीकार गरे पनि हजारभन्दा बढी महासमिति सदस्यले हस्ताक्षर गरेर नेतृत्वलाई प्रतिवेदन बुझाएर दबाब दिए ।
यसबारेमा प्रचण्डले आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा प्रश्न उठाएका छन् । ‘संविधानमा उल्लेख धर्मनिरपेक्षताको विषयमा पनि कांग्रेस बैठकमा जसरी चर्चा र परिचर्चा भए, जनयुद्धको बारेमा पनि अहिले बेमौसमको बाजा बजाएर किन बोलेको भनेर प्रश्न त उठेको छ तर, त्यसले तत्काल तात्विक रूपले ठूलो अन्तर र असर परिहाल्छ भन्ने ठाउँमा हामी पुगेको स्थिति छैन,’ प्रचण्डले स्थायी कमिटी बैठकमा भनेका छन् ।
यस्ता असन्तुष्टिको विषयमा माओवादीले राष्ट्रियसभा अध्यक्ष दाबी गरेर कांग्रेसलाई ‘साइज’ मा राख्ने प्रयास गरेको छ । प्रधानमन्त्री प्रचण्डले सरकारले काम गरेको छ है भन्ने बनाउन मन्त्रिमण्डलको सेट परिवर्तन आवश्यक ठानेका छन् । त्यो काममा कांग्रेस र सभापति देउवालो भाँजो हालेका छन् । एउटा संवैधानिक पदलाई देखाएर सरकार र गठबन्धनमा ठूलो दलको हैसियतले गरेका बलमिच्याइको कोर्ष करेक्सन प्रचण्डले चाहेका छन् ।
यस्तोमा शुक्रबार भरतपुर पुगेर कांग्रेस सभापति देउवाले गठबन्धन टुट्दैन भन्ने अभिव्यक्ति दिए । ‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ, देउवाले भने, ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्छ ।’
देउवाको भनाइपछि माओवादीभित्र भनेअनुसार हुने भयो भन्ने ऊर्जा संचार भएको छ भने कांग्रेसले आफूबाट भएको गल्तीमा माओवादीले गुमाएको भागहरू अन्य ठाउँबाट पूर्ति गर्ने कोसिस गर्नेछ । राजनीतिक वजारमा सरकार परिवर्तनको हल्ला गर्माएको समयमा मेयर रेनुको निम्तोमा एमाले अध्यक्ष ओलीलाई मञ्चमा उभ्याएर माओवादीले राष्ट्रियसभाको अध्यक्ष पद लगभग पक्का गरेको बताइन्छ ।
प्रतिक्रिया