सुनसरीको सीमा क्षेत्रमा झण्डोत्तलन

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ तिनकुनेस्थित मुख्य नाकामा राष्ट्रिय झण्डोत्तलन गरिएको छ । शुक्रबार नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको हो ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको झण्डोत्तलन कार्यक्रममा सुनसरी क्षेत्र नं. ४ ख का प्रदेश सभासद ईसरायल मन्सुरी, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यही फागुन १२ देखि १६ गतेसम्म सञ्चालन गरिएको सीमा पैदल यात्रा तथा सीमावासीसँग अन्तरक्रिया कार्यक्रम पश्चात् सीमा ईलाकामा रहेका वासिन्दाहरुमा राष्ट्रियताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यका साथ सीमा ईलाकामा झण्डोत्तलन गरिएको उनले बताए ।

जिल्ला सुरक्षा समिति सुनसरीको निर्णय अनुसार कोशी गाउँपालिकाको सहकार्य तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीको व्यवस्थापनमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया