बारा । दादुरा रूबेलाको संक्रमणको जोखिमलाई दृष्टिगत गरी बाराको करैयामाई गाउँपालिकाले गाउँपालिका भरीमा यही २० देखि २४ फागुनसम्म ८ हजार ४ सय ४५ बालबालिकालाई दादुरा रूबेला विरोद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
करैयामाइ गाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित दादुरा रूबेला खोप अभियान २०८०÷०८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त अभियानबारे जानकारी दिइएको हो ।
उक्त कार्यक्रममा सहजीकरण गर्दै करैयामाई गाउँपालिकाका स्वास्थ शाखाका प्रमुख अरबिन्दकुमार गुप्ताले दादुरा रूबेला रोग विरूद्वको खोप लगाइने बताए । उनले गाउँपालिकाको वाड–१ मा ९ सय ६२ जना, वडा–२ मा ५ सय ६४ जना, वडा–३ मा ८ सय ५६ जना, वडा–४ मा ७ सय ८४, वडा–५ मा १ हजार १ सय ५६ जना, वडा–६ मा ८ सय ५३ जना, वडा–७ मा १ हजार ९ सय २२ जना र वडा–८ मा १ हजार ३ सय ४७ जना गरी कुल ८ हजार ४ सय ४५ जना बालबालिकालाई खोप लगाउन लागिएको जानकारी दिए । नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई उक्त खोप लगाइने उनले बताए ।
उनले निजी विद्यालय र सामुदायिक विद्यालयसहित विभिन्न खोप केन्द्रको माध्यमबाट उक्त खोप अभियान सञ्चालन गर्ने बताएका थिए । करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुष आचार्य, वडा–२ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी, वडा–८ का वडा अध्यक्ष दिनेश चौधरी, वडा–६ का वडा अध्यक्ष राजकुमार चौधरी, शिक्षा शाखाका उमेश यादव लगायतकाले अभियान सफल बनाउन प्रतिबद्धतासहित भनाइ राखेका थिए ।
प्रतिक्रिया